जसरी नदी बगिरहन्छ, त्यसैगरी म लेखिरहन्छु

राष्ट्रकवि माधव घिमिरेका जीवन भोगाइका किस्सा (अडियो सहित)

प्रकाशित मिति: 2016-08-05
राजन रुचाल

काठमान्डु ।

गाउँछ गीत नेपाली ज्योतीको पङ्ख उचाली
जय जय जय नेपाल सुन्दर शान्त बिशाल

युवादेखि बृद्धसम्मका जो कोहीको छाति यो गीत सुन्दा गर्वले फूल्छ, यस गीतका लेखकका कपाल मात्र होइन परेलीहरु पनि फूलिसके । उनै लेखक राष्ट्रकवि माधव घिमिरे एक सय वर्ष पुग्न ३ वर्ष बाँकी छ । दिनचर्या भने कुनै तन्नेरीको भन्दा कम छैन ।

शारीरिक व्यायाम देखि सार्वजनिक कार्याक्रममा सहभागिता सम्म उहाँको दिनचर्या भित्र पर्छन । अनि साहित्य सृजना बाँचुन्जेल नछुट्ने आदत बनेको छ । त्यसैले सृजनामा उमेरले के फरक पारोस् !

रहर त को त के कुरा हिमाल चुचुराहरु डुलुँडुलुँ लागेर आउँछ । उहाँलाई लाग्छ, सके मुस्ताङ घुम्दो हुँ । मुक्तिनाथ पुग्दो हुँ । मुगुको रारा पुग्ने रहर उस्तै छ, माधव घिमिरेलाई ।

उमेर सय वर्षको हाराहारीमा पुग्दा औंलामा गन्न सकिने मानिसहरु मात्रै सक्रिय जीन्दगी बाँचिरहेका हुन्छन् । यस्तै सक्रिय र तन्दुरुस्त राष्ट्रकवि घिमिरेलाई हप्ता दश दिन कुनै कार्यक्रममा जान नपाउँदा छटपटी जागेर आउँछ ।

रहर त को त के कुरा हिमाल चुचुराहरु डुलुँडुलुँ लागेर आउँछ । उहाँलाई लाग्छ, सके मुस्ताङ घुम्दो हुँ । मुक्तिनाथ पुग्दो हुँ । मुगुको रारा पुग्ने रहर उस्तै छ, माधव घिमिरेलाई ।

राजधानीको लैनचौरमा उहाँको बसोबास भएपनि टिभी र टेलिफोन मार्फत देशविदेशसँग सम्बन्ध छ । कुराकानीका लागि निवासमा भेट्ने सल्लाह भएपछि बिहान खाना खाएर आफ्नो बुढेउलीमा नघटेको बहार सुनाउन प्रतिक्षारत हुनुहुन्थ्यो घिमिरे ।

केहि अनौपचारिक गफगाफ पछि शुरु भए राष्ट्रकवि घिमिरेका जीवन भोगाइका किस्सा । यो उमेर सम्मको सक्रियताको राज । बडो स्वादिलो र मिजासिलो पारामा ।

हामीले जसै उहाँको घरको आगँनमा पाइला टेक्यौं, घिमिरेकी जीवनसंगिनीले बार्दलीबाटै मुस्कान बिछ्याएर स्वागत गर्नुभयो ।

घरको भुँई तल्लामा रहेको पाहुना कक्ष । जहाँ भित्ताभरी सजाईएका थिए घिमिरेका तस्वीर, सम्मान र प्रशंसा पत्र । तिनै भित्ताहरुमा टोलाउँदै गर्दा घिमिरे सेतो कमिज, खैरो ज्वारीकोट र ढाका टोपीमा ठाँटिएर कोठाभित्र छिर्नुभयो ।

केहि अनौपचारिक गफगाफ पछि शुरु भए राष्ट्रकवि घिमिरेका जीवन भोगाइका किस्सा । यो उमेर सम्मको सक्रियताको राज । बडो स्वादिलो र मिजासिलो पारामा ।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा गोरखापत्रमा पहिलो रचना छपाएर माधव घिमिरेको साहित्यिक यात्राको शुरुवात भयो । एक शताब्दीको आसपास सम्म पनि त्यो यात्रा नदी झैं अविरल छ । रचना झन् झन् बेजोड भएजस्ता लाग्छन् । जीवनको यात्रा उत्तरार्धमा छ, तर साहित्यिक यात्रा बाला उमेरमै छ जस्तो लाग्छ घिमिरेलाई ।

करिब डेढ घण्टाको भलाकुसारीमा माधव घिमिरेको सक्रिय जीवनको ओल्टाइपल्टाई भयो । उमेर बुढ्यौली तर काम तन्नेरी । आँखाले चश्माको साहरा लिएको छ । कान कम सुन्नुहुन्छ, आवाजमा कम्पन छ तर बोलीमा लगाइएको शक्ति कम छ्रैन । यो सामान्य मानिसको लागि आश्चर्यको विषय स्वयं घिमिरेलाई लाग्छ ।
 
जन्मपछि मृत्यु शाश्वत सत्य हो । बुढेसकाल लागेपछि बुढ्यौली जीवन बाँचिरहेका कतिपयको मनमा मृत्युसँगको डरले डेरा जमाएको हुन्छ । तर राष्ट्रकवि माधव घिमिरेको फरक सोंच छ ।

“मृत्युसँग डराउने होइन, यसलाई जितेर काम गर्ने हो ।” राष्ट्रकवि घिमिरेले बुढेसकाल लागेकाहरुलाई आफ्नो अनुभव समाजसँग बाँड्न सुझाव दिनुभयो । मनलाई उज्यालो बनाई राख्न सके जिन्दगी जिउनुको अर्थ हुन्छ ।

कवि र गीतकारको रुपमा परिचित उहाँको गौरी शोककाव्य सबैभन्दा चर्चित मानिन्छ । अन्य फुटकर कविता संग्रहहरु पनि निस्किएकाछन् । ती मध्येका केहि मन पर्ने कविताका हरफ उहाँले बाचन गरेर सुनाउनुभयो ।


 
देउरालीमा बर पिपलको बोट नौलो म लगाउँ
छहारीको तलतिर बसी गीत एउटा म गाउँ

 

कविता हरफ गुनगुनाए पछि, घिमिरेले मुस्कुराउँदै भन्नुभयो, “उ बेला लय हालेर गाउथें आज भोली स्वरले त्यति साथ दिंदैन तर पनि रहर लाग्छ के गर्नु ?”

स्वस्थ र सक्रिय जीवन बाँच्नुका वैज्ञानिक कारण एकातर्फ होलान् । राष्ट्रकवि घिमिरेको खानपान पनि सादगी छ । सामान्य दाल भात तरकारी मन पर्ने खाना । साग भए उक गाँस भात बढि रुच्छ घिमिरेलाई । तर एक गिलास दुध कहिल्यै टुट्दैन ।

कुराकानीको बिट मार्दै राष्ट्रकवि घिमिरेले भन्नुभभयो, “आज धेरै बोलें, अब थकाइ लाग्छ, धेरै बोलेको भनेर अहिले बुढियाले गाली गर्छिन ।”

९७ वर्षको उमेरमा पनि सक्रिय जीवन बाँचिरहनुको पछाडी, सकरात्मक सोंचाई, उचित खानपान र जीवनशैली, नियमित आराम व्यायाम जरुरी छ ।

आधाघण्टा समय छुट्याएर गफिन थालेको भएपनि घिमिरेको सक्रियताको पाटो खोतल्दा खोतल्दै डेढ घण्टा बितेको पत्तो भएन । कुराकानीको बिट मार्दै राष्ट्रकवि घिमिरेले भन्नुभभयो, “आज धेरै बोलें, अब थकाइ लाग्छ, धेरै बोलेको भनेर अहिले बुढियाले गाली गर्छिन ।”

छुट्नै लाग्दा माधव घिमिरे तस्वीर खिच्न र टोपी मिलाउन थाल्दैगर्दा भरभराउँदो वैशको बेला बिताइरहेकाको भन्दा कम जोश देखिन्थेन ।

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार