पूर्वमा बाढीको वितण्डा, ज्यान बचाउन मुस्किल

हजारौ घर डुवानमा, जनजीवन प्रभावित

प्रकाशित मिति: 2016-07-24
ज्ञानेन्द्र निरौला, रेडियो सरगम, झापा

झापा । अविरल वर्षापछि आएको बाढीका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ ।  पूर्वको झापादेखि मधेसतराईका जिल्ला ढुवानमा परेका छन् । सप्तरी र महोत्तरीका सयौ घर डुवानमा परेका छन् । स्थानिय बासिन्दा घर छाडेर खुला ठाउँ, स्कूलमा आश्रय लिएर बसिरहेका छन् । त्यस्तै गएराती झापाको अन्दुवा नदीको बाढीले बिर्तामोड डुबाएको छ ।  

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अन्दुवा खोलामा आएको थप बाढीले राजमार्गसमेत अवरुद्ध भएको छ । पानीको सतह बढेर राजमार्गमै आएपछि पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार अन्दुवाको बाढी पस्दा बिर्तामोड नगरपालिका क्षेत्रका करिव २ सय घर डुबाएको छ । रतुवा खोलामा आएको बाढीले तटवन्धन भत्काउँदा लखनपुर–२ र गौरादहका केही गाउँ डुबेको प्रहरीले जनाएको छ । कन्काईमा नदीमा पानीको सतह बढेपछि आधा जर्दनभन्दा बढी गाविस डुवानमा परेका छन् ।
सप्तरी जिल्लाको विभिन्न गाविसमा करिब दुई हजारभन्दा बढी घर डुबानमा परेको छ ।

खडक, खाँडो, महुली, चापिन, सुन्दरी, भलुवाही लगायतका खोलामा आएको बाढीको पानी बस्तीमा पस्दा घर डुबानमा परेको हो । बाढीले नदीहरुको बाँध र स्पर भत्काउँदा सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, गोबरगाढा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी लगायत डेढ दर्जनभन्दा बढी गाविसको बस्तीमा पानी पसेको छ ।

झापामा मात्र हजार भन्दा बढी घर डुबानमा

अविरल बर्षाका कारण झापाका बिभिन्न नदिहरुमा पानीको बहाब बढेसंगै जिल्ला भर नै घरहरु डुबानमा परेका छन । जिल्लाका कन्काई, बिरीङ, निन्दा, अदुवा, टिमाई लगायतका नदिहरुमा पानीको बहाब अहिले सम्म कै उच्च देखीए पछि जिल्ला बिभिन्न ठाउँमा गरी एक हजार भन्दा बढी घरहरु डुबानमा परेको नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

निरन्तर बर्ष भईरहेको र सञ्चार सम्बन्ध पनि अबरुद्ध रहेका कारण जिल्लाको तथ्याङ्ग लिन कठिन भईरहेकोले यकिन तथ्याङ्ग आउन केही समय लाग्ने भए पनि जिल्लाका मेचीनगर, बिर्तामोड, डाँगीबारी, कोहबरा, महाभारी, जलथल लगायतका क्षेत्रहरुमा एक हजार भन्दा बढी घर डुबानमा परेको प्रारभ्भिक जानकारी रहेको रेडक्रस झापाका सभपाति ढकालले रेडियो सरगमलाई जानकारी दिनु भयो ।

धुलाबरीको निन्दा खोलामा पानीको बहाब बढेसंगै झापाको बाहुनडाँगी–३ र मेचीनगर–७ को सिमा क्षेत्रमा निन्दा खोलाको पुर्वी तटबन्द फुट्ने खतरा भएको छ । लगातारको बर्षाका कारण तटबन्द फुट्ने खतरा बढेपछि स्थानिय त्रसित बनेका छन ।
 
बाहुनडाँगी–३ स्थीत दोकानडाँढा पश्चिममा निन्दा खोलाको पुर्वी तटबन्द कटान तिव्र पारेको स्थानियबासीले बताए । स्थानिय बासीले बाँस लगाएर खोला थुन्ने प्रयास गरिरहेका छन । उक्त स्थानबाट निन्दा खोलाको पुवी तटबन्द फुट्ने हो भने बाहुनडाँगी–३ सहित मेचीनगरका वार्ड नं. ७, ११,१२ र १३ मा निन्दा खोलाको एउटा भँगालो नै प्रवेश गर्ने भएकाले ठुलो क्षति हुने सभ्भावना रहेको स्थानिय चन्द्र प्रसाईले बताउनुभयो ।
 
प्रसाईका अनुसार उक्त स्थानबाट खोलाको तटबन्द फुट्दा मेचीनगर नगरपालिकाको कार्यालय भवन सहित ईटाभट्टा क्षेत्रमा समेत डुबानको खतरा हुनेछ ।  त्यस्तै धुलाबारी स्थित निन्दा खोलाको पश्चिम तटबन्द पुर्व पश्चिम राजमार्गको पुल देखी ५० मिटर उत्तर पटि भत्काउन थालेको छ ।
 
सो तटबन्द फुट्ने हो भने निन्दा खोला धुलाबारी चौकबाट बग्ने भएकाले धुलाबारी सहर नै डुवानमा पर्ने अवस्था आउने देखिन्छ । यसैबिच धुलाबारी स्थित टिमाई खोलाको पुल दक्षिणमा रहेको बस्तिमा टिमाई खोलाको पानी पस्दा १५ घर डुवानमा परेका छन ।
टिमाई खोला छिर्दा घरभित्र रहेको खाद्यान्न तथा लत्ताकपडा भिजेको स्थानिय महमद डोमाले रेडियो सरगमलाई बताउनुभयो ।
 
टिमाई खोला पुर्वका महमद डोमा, खरमान महमद, महमद जनाब, रुपसदा खातुन र मैती खातुनको घर डुवानमा परेको हो । टिमाई खोला पश्चिम पनि केही घरहरु डुवानमा परेको छ । स्थानियले खोलाको छेउमा बाँध लगाएर आफुहरुलाई बेघर हुनबाट बचाउन प्रशासन समक्ष आग्रह गरेका छन ।

दक्षिणी झापाको घेराबारी गाउँ बिकास समितिका वार्ड नम्बर ३, ५ र ६ का करीब ६० घर डुबानमा परेको घेराबारीबाट हाम्रा सहयोगी शंकर भट्टराईले जानकारी दिनु भएको छ । भट्टराईका अनुसार बर्षा जारी रहे थप अन्य क्षेत्रका घरहरु समेत डुबानको खतरामा रहेका छन ।

तपाईंको बिचार