किसानले पाउने अनुदान करोडपति व्यापारीलाई

प्रकाशित मिति: 2016-07-24
रोशन तिवारी, रेडियो शालिग्राम, पर्वत

पर्वत । पशुसेवा कार्यालय पर्वतले अनुदानका कार्यक्रम धनाढ्य व्यापारीलाई बाँडेको खुलासा भएको छ । कार्यालयले वितरण गर्ने अनुदान कार्यक्रममा पहुँचवाला व्याक्ति प्राथमिकतामा परेपछि विवाद भएको छ । कार्यालयमार्फत आर्थिक वर्ष २०७२÷०७३ को ४३ लाख ८० हजार अनुदान सदरमुकामका व्यापारीलाई बाँडिएको हो ।

चालु वर्षको सहकारी खेती, कुखुरा, बंगुर, गाई–भैंसीपालन र पशुजन्य उत्पादन लगायतमा वितरित ४३ लाख ८० हजार अनुदानमध्ये सदरमुकाम आसपासका २९ जनाले २४ लाख रुपैयाँ पाएका छन् । कार्यालयले युवालक्षित पशुजन्य उद्योगका लागि विनियोजित ६ लाखमध्ये ४ लाख सदरमुकामकै दुई व्यापारीलाई वितरण गरेको छ ।

सदरमुकामका करोडपति व्यापारी शिव पौडेल र कृष्णराज पौडेललाई पशु सेवा कार्यालयले अनुदान दिएको छ । शिव पौडेल शीतल डेरीका सञ्चालक हुनुहुन्छ भने कृष्णराज पौडेल दुर्गा भवानी कुराउनी उद्योगका सञ्चालक हुनुहुन्छ । कार्यालयले पशुजन्य उद्योगको वजेट मात्रै होईन अन्य अनुदान समेत मनपरी तरिकाले बाँडेको सरोकारवालाहरुले बताएका छन् ।

युवालक्षित गाइपालन शीर्षकमा आएको १३ लाख ८० हजार अनुदानमध्ये ७ लाख ८० हजार सदरमुकामकै केहीलाई वितरण गरेको खुल्न आएको छ । कार्यालयका उपल्लो तहका कर्मचारीहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि आफन्त र नजिकको सम्बन्ध भएका व्यक्तिहरूलाई मात्रै अनुदानका कार्यक्रम वितरण गरेको दुर्गमका किसानहरूको आरोप छ ।

नगरपालिकाभित्रै व्यावसायिक पशुपालनमा लागेका युवाहरूले पनि कर्मचारीले आफन्तहरूलाई मात्रै छानीछानी अनुदान वितरण गरेको आरोप लगाएका छन् । वरिष्ठ पशु विकास अधिकृत सुधीर थापाले ३० दिने सार्वजनिक सूचना निकालेर आवेदन आह्वान गर्ने भएकाले वितरित अनुदान प्रक्रिया बमोजिम नै भएको दाबी गर्नुभयो । तर साना किसानहरु भने त्यो मान्न तयार छैनन् । 

तपाईंको बिचार