प्रेस स्वतन्त्रता सेनानी भट्टराईको निधन

प्रकाशित मिति: 2016-07-03

रेडियो लुम्बिनी र रेडियो जागरण, बुटवल 
प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा निधन भएको छ ।

बुटवलमा लामो समयदेखि सक्रिय पत्रकारिता गर्नुभएका भट्टराईलाई गएराती हृदयघातका कारण निधन भएको परिवारले जनाएको छ ।

अघिल्लो दिनसम्म लेखनकार्यमै पत्रकार पण्डित सक्रिय हुनुहुन्थ्यो । २००७ साल असार १५ गते अर्घाखाँचीको खिदिमा जन्मनुभएका पण्डित हाल भने बुटवल १४ तामनगरमा बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा र दुई छोरी र श्रीमती हुनुहुन्छ ।

पण्डित भट्टराईले बुटवलमा दैनिक लुम्बिनी, जनसंघर्षमा सम्पादक, नयाँ सत्ता र सैनामैना दैनिकको प्रधान सम्पादक भई काम गर्नुभएको थियो ।

पछिल्लो समय बुटवल टुडेमा पण्डित जी नामक व्यङग्य स्तम्भ लेख्नुहुन्थ्यो । गीत, कबिता, कथा, नाटक, नाच, गान, स्वास्थ्य, उपन्यास, काब्य, ब्यंग्य तथा समसामयिक सन्दर्भमा लेख छिनभरमै लेख्न सक्ने क्षमता उहाँको भएको पत्रकारहरु सँझिन्छन् ।

बुद्ध दर्शनमा बिशेष रुची राख्ने उहाँले एकदर्जन पुस्तक प्रकाशन गरिसक्नु भएको छ ।  पत्रकार भट्टराईको निधनले सञ्चारक्षेत्र शोकमा डुबेको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देही तथा पत्रकार सम्बद्ध संघसंस्थाले उहाको निधनप्रती दुःख व्यक्त गरेको छ । उहाँलाई ३ वर्ष अघि नेपाल पत्रकार महासंघले पे्रस स्वतन्त्रता सेनानी सम्ममानबाट सम्मान गरेको थियो ।

 

तपाईंको बिचार