श्रीमान र प्रेमीहरुबाट असुरक्षित महिला

कानून कम्जोर हुँदा पीडकलाई उन्मुक्ति

प्रकाशित मिति: 2016-06-25
दीपक आचार्य

हेटौडा घर भई काठमाण्डौको गलैचा फ्याक्ट्रीमा काम गर्दै आउनु भएका सीता तामाङलाई ललाईफकाई तीन वर्ष अघि सिन्धुपाल्चोकका सुजन बम्जनले प्रेम बिबाह गरे । काठमाडौंको बौद्धमा डेरा गरी बसेको केही महिनापछि सुजनको गाउँमा पहिले नै विवाह भैसकेको सीताले थाहा पाएपछि श्रीमानको शारीरिक तथा मानसिक हिंसा भोग्नु पर्यो । 

हिंसाले यस्तो रुप लियो कि एक दिन सीताको शरीर जीउँदै जलाउने प्रयत्न भयो । सीतालाई कोठामा थुनेर सुजनले पहिले खुकुरीले प्रहार गरेर भुईमा ढाले र मट्टीतेल छर्किएर आगो लगाईदिए ।

आगो लागेर चिच्याएपछि छिमेकीहरु आए, बेहोस भैसकेकाले उनको श्रीमानले स्टोभ पट्कीएर आगो लागेको भनेर छिमेकीलाई ढाँटे । पछि त्यहि कुरा अस्पताल र प्रहरीलाई समेत भनियो ।

त्यति मात्रै होईन सीताको जलेको शरीरको उपचारका लागि धेरै खर्च चाहियो भनेर श्रीमान सुजन बम्जनले आफन्तसँग धेरै पैसा उठाए । यथार्त कुरा खोल्यो भने मारिदिन्छु भन्दै धम्की दिएर सुजन आफन्तबाट उठाएको उपचार खर्च नै लिएर फरार हुन पुगे ।

श्रीमान भागेको थाहा पाएपछि सीताले यथार्तता बाहिर ल्याउनुभयो । रकम लिएर फरार भएका श्रीमानलाई पक्राउ गर्नका लागि उहाँले प्रहरीमा उजुरी दिए पनि प्रहरीले अहिलेसम्म पीडकलाई पक्राउ गर्न सकेको छैन ।

‘तेजाव वा अन्य कुनै प्रज्ज्वलनशील पदार्थले आक्रमण गरी व्यक्तिको अनुहारलाई कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र एक लाखदेखि ३ लाख रुपैयाँसम्मको जरिवाना’ गर्नुपर्ने कानूनी व्यवस्था भए पनि यसको कार्यान्यवनमा सरकार गम्भीर भएको छैन ।

सीताका अनुसार अहिले उ काठमाण्डौमा नै बस्छ, सबै प्रमाणहरु जुटाई दिदा पनि प्रहरीले पक्राउ गर्ने इच्छाशक्ति नदेखाएको उहाँको बुझाइ छ । सीतालाई जस्तै जलाउने प्रयत्न कञ्चनपुरमा गएको चैतको १० गते जानकी जोसी माथि पनि भयो ।

४ वटा छोराछोरीकी आमा जानकीलाई श्रीमान नरेन्द्र जोशीले जलाउने प्रयास गरे । आधा शरीर जलेका उहाँलाई गाउलेले उपचारका लागि अस्पताल लगे, श्रीमानलाई भने जेल सजाए भयो ।

मदिरा खाएर आएपछि सधै पिट्ने गरेको कुरालाई सामान्यरुपमा लिएर सहेर बसेकी जानकीले जीउँदै जलाउने प्रयत्न भएपछि सबै यथार्तता बाहिर ल्याउनुभयो । श्रीमान मात्रै होईन जेठाजु र जेठानीले पटकपटक गरेको कुटपिट सम्झदा कञ्चनपुर नै फर्कन मन नलागेको उहाँ बताउनु हुन्छ ।

सीता तामाङ र जानकी जोशी त उदाहरण मात्रै हुन यस्तै हिंसा सयौं महिलाहरुले हरेक वर्ष भोग्ने गरेका छन् । शिक्षण अस्पतालमा यस्ता धेरै महिलाहरु उपचारका लागि पुग्ने गरेका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा आगोले जलेको छालाको उपचारमा कार्यरत नर्सिङ सुपरभाईजर कल्पना सिटौला आधिकांस महिलाहरुलाई श्रीमान् र आफन्तले जीउदै जलाउने प्रयास भएका घाईतेहरु आउने गरेको बताउनु हुन्छ । 

शरीर जलेको महिलाहरुको उपचार निक्कै जटिल, लामो समय लाग्ने र खर्चिलो हुने सिटौलाको भनाइ छ । यस्तो हिंसामा परेकाहरुका लागि स्वास्थ्य उपचार मात्रै होईन मानसिक परामर्शको पनि आवश्यकता पर्दछ ।

आगो लगाएर वा तेजाव छ्यापेर महिलाको अनुहार र शरिरलाई कुरुप बनाउने सबै भन्दा बढि श्रीमान र प्रेमीहरु नै भएकाले उनीहरुलाई कारबाहीको दाएरमा ल्याउन बिषेश कानूनको आवश्यकता पर्दछ ।

यसै क्षेत्रमा काम गर्दै आएको बिभिएस नेपालका मानसिक परामर्शदाता मीनाक्षी राणा यस्तो हिंसा भोगेका महिलाहरु एकदमै डराउने, राति र दिउँसो पनि झस्कीरहने भएकाले उनीहरुलाई सामान्य अवस्थामा फर्काउन परामर्शको आवश्यकता औंल्याउनुहुन्छ ।

सरकारी अस्पतालबाट यो सुबिधा नपाईने भएकाले कमैले मात्रै यस्तो सुबिधा पाउछन् ।दाईजोका नाममा वा बिभिन्न कारणले महिलाहरुलाई जलाउने र तेजाव छ्याप्ने जस्तो दण्डनीय हिंसा गर्नेहरु पनि कानूनी कारबाहीबाट बच्ने गरेका छन् ।

वर्न भ्वाईलेन्स सर्भाइवर अर्थात अग्नी हिंसा पीडित नेपालका कार्यक्रम संयोजक रुमी राजभण्डारी कानूनमा भएको कमजोरीका कारण हिंसा गर्ने अपराधीहरुले उन्मुक्ति पाईरहेको बताउनु हुन्छ । 

‘तेजाव वा अन्य कुनै प्रज्ज्वलनशील पदार्थले आक्रमण गरी व्यक्तिको अनुहारलाई कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र एक लाखदेखि ३ लाख रुपैयाँसम्मको जरिवाना’ गर्नुपर्ने कानूनी व्यवस्था भए पनि यसको कार्यान्यवनमा सरकार गम्भीर भएको छैन । 

‘शरीरका अन्य स्थानमा तेजाव वा अन्य त्यस्तै पदार्थ छ्यापेर कुरुप बनाएमा कसुरको प्रकृति हेरी ३ वर्षदेखि ७ वर्षसम्म कैद र ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना’को प्रस्ताव गरिएको छ ।अग्नी हिंसा पिडितका लागि कानुनलाई अझै स्पष्ट र सक्तिशाली बनाउनु पर्दछ ।

पुरुषप्रधान संस्कार या संस्कृतिले शासन गरेको हाम्रो समाजमा पछिल्लो समय यस्ता महिला हिंसाका घटना झन बढ्दै गइरहेका छन् । आगो लगाएर वा तेजाव छ्यापेर महिलाको अनुहार र शरिरलाई कुरुप बनाउने सबै भन्दा बढि श्रीमान र प्रेमीहरु नै भएकाले उनीहरुलाई कारबाहीको दाएरमा ल्याउन बिषेश कानूनको आवश्यकता पर्दछ । दूरदराजका ग्रामीण बस्ती हुन् वा सुगम शहर–बजार सबैतिर समस्या उस्तै छ ।  

 

तपाईंको बिचार