काठमाडौं ।
बौद्ध धर्म दर्शन तथा इतिहासका अध्येता एवं लेखक बसन्त महर्जनको सातौं पुस्तक ‘खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन’ प्रकाशित भएको छ । इन्साइट पब्लिकेशन प्रा.लि.बाट प्रकाशित यस अनुसन्धानमूलक पुस्तक विश्व बौद्ध इतिहासमा नै थप उपलब्धी हुने विश्वास गरिएको छ ।
विश्व इतिहासमा बौद्ध राज्यका रुपमा अनेकौं राज्यको उल्लेख भएतापनि त्यसमा खश साम्राज्यको उल्लेख प्रायः पाइँदैन । तर लेखक महर्जनकाअनुसार खश साम्राज्यलाई धार्मिक रुपमा बौद्ध साम्राज्य भन्न सकिने प्रसस्त आधार रहेको र प्रकाशित पुस्तकको मुख्य विषयवस्तु पनि यही रहेको छ ।
तिब्बतको खारी प्रदेशका राजा नागराजले बा¥हौं शताब्दीमा पश्चिम नेपालको कर्णाली क्षेत्रस्थित सिंजा (जुम्ला) उपत्यकालाई राजधानी बनाई स्थापित साम्राज्यले स्थापना कालदेखि नै बौद्ध धर्मको संरक्षत्व दिंदै यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भएता पनि चौधौं शताब्दीमा साम्राज्यको विघटनसँगै बौद्ध धर्मको पनि पतन भएको कुरा पुस्तकमा परेको छ ।
केही समयअघि सिंजामा जमिन खन्ने क्रममा बुद्धको मूर्ति भेटिँदा भूत निस्केको भन्दै तोडफोड गरेको प्रसङ्गले इतिहासमा उक्त क्षेत्रमा बौद्ध धर्मको वैभवता जतिसुकै उच्च भएपनि वर्तमानमा सामान्य जानकारी पनि नभएको जनाउँछ ।
हाल भारतमा पर्ने बोधगयासमेत खश साम्राज्यअन्तर्गत नै पर्ने विवरण पुस्तकमा उल्लेख छ । गौतम बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेको स्थल बोधगया मुसलमानी आक्रमणको चपेटामा परेको थियो तर ते¥हौं शताब्दीको मध्यतिर खश साम्राज्यका प्रभावशाली राजा अशोक चल्लका सेनाले मुसलमानी आक्रमणकारीलाई धपाई सो क्षेत्र खश साम्राज्यअन्तर्गत ल्याएको र बौद्ध धर्मलाई संरक्षण प्रदान गरेको वर्णन तिब्बती स्रोतमा उल्लेख भएपनि यो चर्चाको विषय बनेको पाइँदैन ।
यसरी नै खश साम्राज्यमाथि दिल्लीका मुसलमानी शासकको आक्रमण हुँदा खश सेनाले प्रतिकार गरी धपाएको प्रसंग भारतीय इतिकासकै लागि नौलो कुरा हो । भारतीय इतिहासमा उल्लेख भएको ‘काराचल’ नाउँको देश अरु नभएर खश साम्राज्य रहेको दाबी प्रकाशित पुस्तकमा परेको छ ।
पुस्तकमा खश साम्राज्यको संस्थापक राजा नागराजसहित उनका उत्तराधिकारी चाप, चापिल्ल, क्राशि चल्ल, क्राधि चल्ल, क्रा चल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, अक्षय मल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल, सूर्य मल्ल र अभय मल्ल गरी पन्ध्र राजाको संक्षिप्त वर्णनका साथै बौद्ध धर्मको अभ्यास र विकास तथा पतन हुनाका कारण बारे चर्चा गरिएको छ ।
तपाईंको बिचार