संसदीय नियमावली विवाद : अन्तिम प्रयास पनि असफल

प्रकाशित मिति: 2016-06-14

काठमाडौं । संसद् नियमावलीका विषयमा सहमति जुटाउने अन्तिम दिन आज सकिंदैछ । विवादित विषयमा सहमति जुटाउन छुट्याइएका १० दिन मध्ये नौ दिन सहमतिबिना नै गुज्रिएका छन् । व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्तीले जेठ २२ गतेको संसद् बैठकमा विवादित विषयमा सहमति गर्न १० दिनको समय दिनुभएको थियो ।

सहमति भए पनि नभए पनि भोलि १ गते बस्ने संसद् बैठकमा नियमावली पारितका लागि बहुमतीय प्रक्रिया सुरु गर्ने तयारी छ । आज अन्तिम दिन दलहरुबीच छलफल गर्ने तयारी छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्ष दलका नेता कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

आज प्रमुख तीन दलबीच छलफल गर्ने तयारी छ । सरकारको नेतृत्व गरेको एमाले र विपक्षी काँग्रेसका शीर्ष नेताबीच एकपटक छलफल भए पनि सहमति जुट्न सकेको छैन । सभामुख ओनसरी घर्ती हिजो साँझ मात्रै विदेशबाट नेपाल आउनु भएको छ ।

सत्तापक्षले संविधानमा भएको व्यवस्थाअनुसार १५ सदस्यीय सुनुवाइ समिति बनाउनुपर्ने अडान लिएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित केही साना दल भने पुरानो नियमावलीअनुसार ७५ सदस्यीय सुनुवाइ समिमितको पक्षमा छन् । दलहरुबीच सहमति नभए ५ गतेसम्म मतदानबाट टुङ्गो लगाइनेछ ।  

तपाईंको बिचार