‘सास छ, कि लास भो, बताइदेउ सरकार’

प्रकाशित मिति: 2016-06-09
तपेन्द्र कुँवर, रेडियो सुदूर सन्देश

जेठा छोराको श्रीमतीले नातिलाई छोड्दै दोस्रो विबाह गरेपछि साहारा विहीन भएकी रमिता घर्तीमगरको हेरचाह छोरी ज्वाँइले गर्दै आएका छन ।

धनगढी, । कैलालीको मोहन्याल गाविस वडानम्बर ८ बस्ने रमिता धर्तिमगरका दुई छोरा (खड्क र चक्र) लाई माओवादीको अभियानमा नलागे ज्यान मार्न धम्की दिएपछि उनीहरु वाध्य भएर अभियानमा हिडे । माओवादीको शसस्त्र युद्धमा हिडेका दुवै छोरा डोटीको बर्छेनमा भिडन्तमा मारिए । दुबै छोरा मारिएको दुई दिन बित्न नपाउँदै उहाँका श्रीमानलाई वैशाख २१ गते सेनाले घरबाट पक्रेर बेपत्ता बनायो ।

छोराको मृत्युपछि पीडामा पर्नुभएकी रमिताका श्रीमानलाई पनि नेपाली सेनाले पक्रेर बेपत्ता पारेपछि उहाँको जीवनमा ठूलो बज्रपात आईलाग्यो । छोराहरुको मृत्युको खबर सुनेपनि उहाँका छोराहरुको काजक्रिया गरिएन । ‘घाउमा अब मलम लगाउने काम गरियोस’ भनेर करिब १४ वर्षदेखि अत्तोपत्तो नभएका आफ्ना पतिको अवस्थाबारे जानकारी दिन माग गर्दै रमीताले स्थानीय शान्ति समिति मार्फत बेपत्ता छानबिन आयोगमा उजुरी दिनुभएको छ । 

छोरा गुमाउनुको पीडा माथि १४ वर्षदेखि बेपत्ता पारिएका श्रीमानको कुनै अत्तोपत्तो नभएपछि उहाँलाई थप पीडा बोध भएको छ । बेपत्ता श्रीमान कतै नभेटेपछि बेपत्ता आयोगमा उजुरी दर्ता गर्न एक हप्ताअघि उहाँ सदरमुकाम धनगढी पुग्नुभयो । उहाँले भन्नुभयो ‘१४ वर्ष भयो, न लास पाइयो न त सास ।’ उहाँ दुई दिन लगाएर मोहन्याल गाविसबाट सदरमुकाम आउनुभएको थियो ।

जेठा छोराको श्रीमतीले नातिलाई छोड्दै दोस्रो विबाह गरेपछि साहारा विहीन भएकी रमिता घर्तीमगरको हेरचाह छोरी ज्वाँइले गर्दै आएका छन । उहाँले आफ्नो श्रीमानको सास वा लास पाउने आशा अझै जीवितै राख्नुभएको छ । 

यस्तै, धनगढी उप–महानगरपालिका–४ बस्ने चुडामणि भट्टको पनि छ । चुडामणीका बुवा प्रमानन्द भट्टलाई २०६१ साल साउन ४ गते भैरहवाबाट धनगढी आउने क्रममा अज्ञात समूहले अपहरण गरेको थियो । नेपाली सेनाबाट अवकास प्राप्तपछि भैरहवामा उहाँ सुरक्षा गार्डमा जागरे थिए ।

साउन ४ गते विहान भैरहवाबाट धनगढी आउने क्रममा उहाँले घरमा आज घर पुग्छु भनेर फोन गर्नुभएको उहाँका छोरा चुडामणि भट्टले बताउनुभयो । ‘घर आउँछु भनेर हिडेका वुवा बाटो हेर्दा हेर्द १२ वर्षपुगे पनि अहिलेसम्म बुवा पुग्नुभएन’ उहाँले भन्नुभयो ।

उहाँले स्थानीय शान्ति समिति कैलालीमा उजुरी दिएपनि न्याय पाउने आशा भने हराइसकेको बताउनुभएको छ । उहाँले राज्यसँग कि सास कि लासको माग गर्नुभएको छ । बेपत्ता भएपछि १२ वर्षसम्म धेरै निकायसँग खोजविनको लागि माग गरेपनि कतैबाट सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो ।

त्यस्तै, कैलालीको घोडाघोडी नगरपालिका वडानम्बर ३ बस्ने पतिराम चौधरीका छोरा कमलराज चौधरी र उहाँका दाईका छोरालाई घरबाट सेनाले पक्रेर बेपत्ता पारेको १६ वर्ष बितेको छ । एउटा निजी विद्यालयका ९÷१० कक्षामा अध्यनरत छोराहरुलाई माओवादी गतिविधमा संलग्न भएको आरोपमा सेनाले पक्रेर बेपत्ता बनाइएको परिवारले बताएको छ । ‘घरपरिवारका सबैका आँखामा पट्टि बाँधेर उनीहरुलाई सेनाले पक्रेर लगकोे थियो’ उहाँले भन्नुभयो ।

बेपत्ता छोराहरु कतै नभेटेपछि पतिरामले स्थानीय शान्ति समिति कैलाली मार्फत बेपत्ता आयोगमा उजुरी दर्ता गराउन भएको छ । ‘१६ वर्ष भयो, न लास पाइयो न त सास ।’ उहाँले भन्नुभयो । स्कुलले बालकलाई माओवादी भएको आरोपमा वेपत्ता पार्ने सेनालाई कार्वाही गरेमात्र न्यायको महसुुस हुने उहाँको भनाई छ ।

कैलालीमा बेपत्ता पारिएका परिवारहरुले पीडकमाथि कार्वाही भएमात्र पीडितले न्यायको अनुभूति पाउने बताएका छन् । कैलालीमा सशस्त्र द्धन्द्धका क्रममा ५ सय ४३ जनाको मृत्यु, ५३ जना वेपत्ता, १ हजार १ सय ३८ विस्थापित, २ सय जना अङ्गभङ्ग, भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

अहिलेसम्म कैलालीमा सत्य निरुपण तथा मिलमिलाप आयोगमा ३५४ र र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा ४४ वटा उजरी परेको स्थानिय शान्ति समिति कैलाली प्रमुख अनु हमालले जानकारी दिनुभयो । उहाँले कैलालीमा सोचेअनुरुप उजूरी दर्ता नभएको बताउनुभयो ।

उहाँले स्थानीय शान्ति समिति कैलालीले ७ हजार उजुरी आउने अपेक्षा गरिएको बताउनुभयो । सत्य निरुपण तथा मिलमिलाप आयोग र वेपत्ता पारिएका पारिएका व्यक्तिहरुको छानबिन आयोगको बारेमा जनतालाई जानकारी नहुँनुले पनि कम उजूरी आएको बताउनुभयो ।

तपाईंको बिचार