कारागारभित्रै कैदीको विवाह (तस्विरसहित)

प्रकाशित मिति: 2016-06-02
पूर्णप्रसाद न्यौपाने,सहयात्री रेडियो, ओखलढुंगा

ओखलढुङ्गा । जिल्ला कारागार शाखा ओखलढुंगामा बुधबार दिउँसो चहलपहल अलि बेग्लै थियो । कारागारको मुख्य कम्पाउण्डभित्र नयाँ मानिसहरु पनि फाट्टफुट्ट देखिन्थे । सहायक प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख,पत्रकारहरु निकै हतार हतारमा कारागार परिषरमा पुगे ।

केहीबेरमा नै विवाह मण्डपको झल्को दिनेगरि टेवल र कुर्सि मिलाईयो । त्यस बेलासम्म धेरैलाई कारागार परिसरमा के हुँदैछ भन्ने थाहा थिएन । केहीबेरमा नै विवाहका लागि तयारी सुरु भयो । निमीत्त प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख कारागार भित्र छिरे अनि केही पत्रकार र ओखलढुंगा बजारका अगुवा नागरिक पनि कारागार परिसरमा देखिए ।

कारागार प्रशासनले कारागारकै कैदीबिच हुन लागेको विवाहको चाँजोपाँचो मिलाएको थियो । ओखलढुंगा कारागारमा थुनामा रहेका युवा र लामो समय कैद भुत्तान गरेर आममाफी पाएकी युवतिबिच विवाह हुँदै थियो । कारागारमा कैद भुक्तान गर्दै आएका ओखलढुंगा जिल्लाको   ठुलाछाप गाविसका प्रकाश कट्वाल र जिल्लाकै कटुञ्जे गाविसकी धनुका कार्की  एक अर्कालाई मन पराएर विवाहका लागि तयार भएका थिए ।

उनीहरु विवाहका लागि तयार भएपछि कारागार प्रशासनले विधिपूर्वक विवाहका लागि सबै तयारी गरेको थियो । ‘केटाकेटीले एकअर्कालाई मन पराएको कुरा हामीलाई पहिला नै थाहा थियो’जेलर जानुका न्यौपानेले भन्नुभयो ‘उनिहरुकै आग्रहमा विवाहको कार्यक्रम मिलाईएको हो’ आफूहरु विवाहका लागि तयार भएको भन्दै उनीहरुले कारागार भित्रै विवाहको व्यबस्थाका लागि अनुरोध गरेपछि आफूले माथिल्लो निकायसँग सल्लाह र अनुमति लिएर विवाह व्यबस्था गरिदिएको न्यौपानेको भनाई छ ।

विवाहका लागि पुरुष कैदीबन्दी बस्ने स्थानबाट बेहुलालाई ढाका टोपमा सजाएर निकालिएको थियो भने केहि दिन अघि कारागारबाट रिहाई भएकी बेहुली पनि निकै उत्साहित भएर प्रश्तुत भएकी थिईन् । कारागारमा रहेका सबै कैदीबन्दीले कारागार परिषरमा भएको विवाहको दृष्य मुल गेट नजिक बसेर हेरिरहेका थिए । महिला कैदीबन्दीलाई भने बेहुला बेहुलीलाई टिका लगाउन दिईएको थियो ।

विवाहको लागि बाहिर व्यबस्थापनका लागि प्रहरीले समेत सघाइरहेको थियो । विवाह भन्ने वित्तिकै मण्डप बनाएर तामझामका साथ धार्मीक संस्कार अनुसार गर्ने भन्ने बुझिन्छ,तर त्यहाँ त्यसो भएन बरु बेहुला बेहुलीले एक अर्कालाई टिका लगाई दिए । उनिहरुलाई अंगालो मार्न लगाउने भन्ने बेहुली पक्षका अभिभावकले आवाज समेत उठाए ।

बेहुला कट्वाल २०६४ साल देखि जबरजस्तीकरणी मुद्दामा जेल सजाय भोगी रहेका कैदी हुन । उनले अझै २ वर्ष कैद भुक्तान गर्न बाँकी छ । भने बेहुली कार्की २०६३ साल देखि ज्यानमुद्धामा कैद भुक्तान गर्दै आएकी थिईन । उनलाई १५ गते गणतन्त्र दिवसका दिन सरकारले आममाफी दिएको थियो ।

कारागारमा रहँदा नै लामो समय देखि प्रेममा रहेको भन्दै आममाफी पाएपछि त्यसलाई पूर्णता दिन पाउँदा खुःसी लागेको बेहुली धनुका कार्कीले बताएकी छन् । ‘हामी लामो समय देखि प्रेममा थियौँ’कार्कीले भनिन्‘आज हाम्रो सपना पुरा भयो,धेरैँ खुःसी छौँ’ तपाई बाहिर प्रकाश कारागार भित्र अब यो २ वर्षको समय कसरी चल्छ भन्ने प्रश्नमा  कार्की भन्छिन् ‘एउटी महिलाले विद्युवा भएर जिवन विताउन सक्छे भने म त प्रेममा छु.......प्रेममा ।’  

उनी भन्छिन्‘एक अर्कामा विश्वासको कुरा हो हामीमा विश्वास छ,त्यसैले उहाँलाई म पर्खिएरै बस्छु ।’ निकै उत्साह व्यक्त गरिरहेकी कार्कीले सफल दाम्पत्य जिवनको शुभकामना दिने अग्रजहरुलाई पनि जवाफ फर्काएकी थिईन त्यो पनि एक छिन सहभागिहरु हाँसोको विषय बन्यो ।  

अघिपछि सुरक्षा र रासनपानीको लागि चिन्ता हुने ओखलढुंगा कारागारमा बुधबार बेग्लै धपेडी थियो ।  यसअघि कहिल्यै नभएको एउटा भव्य विवाह कार्यक्रम कारागारकै पर्खालभित्र हुँदै थियो । त्यो पनि एक दशक देखि सजाय भोगिरहेका (तिन दिन अघि आम माफी पाएकी महिला) कैदीका बीचमा ।

उनीहरु दुबै पक्षका आफन्तले मिलेर कारागारका कैदी सबैलाई भोज खुवाउन कारागार परिसरमा तयारी गरे । केटी पक्षबाट केटीका दाई भाउजु र केटा पक्षबाट केटाका बुवा,आमा बहिनी लगायतका दुवै पक्षका छिमेकीहरु सदरमुकाम आएर वैवाहिक कार्यक्रममा सहभागि भएका थिए । अभिभावहरु पनि निकै उत्साहित भए ।

यसरी जिल्ला कारागार भित्रै कैदीले बिवाह गरेको ओखलढुंगामा यो पहिलो घटना हो । ‘ओखलढुंगामा ठुलो संख्यामा आममाफी दिईएको र कारागारमै विवाह भएको सम्भवत यो पहिलो घटना होे’ जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाहले भन्नुभयो ‘खुल्ला कारागारको अवधारणा अनुसार नयाँ र खुल्ला वातावरण दिनका लागी उनिहरुको ईच्छा अनुसार विवाहको कार्यक्रम राखिएको हो,बन्द कारागारमा राख्दा भन्दा खुल्ला वातावरण दिनसके सजाय भोगीरहेकाहरु पनि छिटो सुघ्रिने सम्भावना निकै बढि हुन्छ’ सजाय दिनु भन्दा पनि भविष्यमा गल्ती नदोहोर्याउने सर्त सहित सुधारगर्नु महत्वपूर्ण विषय रहेको उहाँले बताउनुभयो ।

त्यस्तै निमीक्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले पनि ठट्यौली गर्दै नवजोडि दम्पत्तीलाई शुभकामना दिँदै भन्नुभयो । ‘व्यक्तिका ईच्छा र चाहाना फरक फरक हुन्छन्,उहाँहरुको पनि यस्तै चाहाना रहेछ,लामो समय देखि मायाँ प्रेममा हुनुहुँदो रहेछ,यो प्रेम जिवन्त रहोस् शुभकामना ।’

कट्वाल र कार्की विवाह वन्धनमा बाँध्ने खबर पाएपछि सवै कैदीवन्दी सवेरै देखि कारागारको पर्खाल भित्र सक्रिय थिए । सुरक्षाकर्मी र चौकीदारको सहयोगमा कट्वाललाई विवाह मण्डपमा ल्याउनासाथ दुवैले एकअर्कालाई मज्जाले नियाले । अरुहरुले पनि अनेक अडकल बाजी गरे । त्यहाँ एउटा प्रश्न पनि उब्जीएको थियो ‘ढुंगाको गाह्रोले छेकेको कारागारका छुट्टा छुट्टै कम्पाउण्डमा बस्नेहरु बिच कसरी देख भेट र मायाँ प्रेम यति गाढा बन्यो ?’ यो प्रश्नको सहि उत्तर के हो ? उनिहरुलाई नै थाह होला ।

आधा घण्टाको वैवाहिक कार्यक्रम पछि प्रकाशलाई कारागार भित्र पठाएको थियो भने दुलहि धनुका लाई घर पठाईएको छ । दुलही धनुकाले दुलाहकै घरमा गएर काम गरेर खाने वताएकी छन् । 

तपाईंको बिचार