मुटुमा करेन्ट लगाएर जोगियो गौतमको ज्यान

प्रकाशित मिति: 2016-05-17

काठमाडौं 

दुई पटकको हृदयघातपछि काभ्रे पनौतिका ५८ वर्षिय केशव गौतम मृत्युसँग लडिरहनु भएको थियो । उहाँलाई जोगाउनका लागि दुवैपटक एन्जियोप्लाष्टी पनि गरेका थिए चिकित्सकहरुले । तर गौतमको मुटुको चाल बन्द हुने र बेहोस हुने समस्या निरन्तर देखिएपछि चिकित्सकहरुले उहाँको मुटुमा करेन्ट प्रवाह गराएर ज्यान जोगाइ दिएका छन् ।  

मुटुमा करेन्ट पठाएर गरिने उपाचारलाई इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर (आईसीडी) भनिन्छ । यो प्रविधिबाट काभ्रे जिल्ला मै पहिलो पटक गौतमको हिजो सफल उपचार गरिएको मुटुरोग विशेषज्ञ डा शिवजीबिक्रम सिलवालले सीआईएनसँग बताउनुभयो । काभ्रेको शिर मेमोरियल अस्पतालमा आईसीडी प्रविधिबाट गरिएको केशव गौतमकोे शल्यक्रियामा डा. शिलवालको नेतृत्वमा डा. एन्जीला बस्नेत, लक्ष्मण थापा, प्रलाद शर्माको टोली सहभागी थियो । 

 

मुटुको करेन्ट उत्पादन हुने ठाँउमा जोडिएको आईसीडीको तारले कुनै कारणवश मुटुमा करेन्ट उत्पादन हुन नसकेको अवस्थामा काम गर्न थाल्छ । यो प्रविधिले स्वचालित रुपमा मुटुको चाल अवलोकन गर्ने भएका कारण सामान्य अवस्थामा निष्क्रिय रहने मुटुरोग विशेषज्ञ सिलवालले जानकारी दिनुभयो । 

डा सिलवालका अनुसार मुटु धड्कनुमा करेन्ट बग्नुपर्छ । मुटुमा करेन्ट बगेन भने मानिस बाँच्न सक्दैन । हृदयघात भएका बिरामीमा यो समस्या धेरै हुने गरेको र काभ्रेमा यस्तो प्रकारको उपचार पहिलो पटक गरिएको डा सिलवालले जानकारी दिनुभयो । 

“जुनसुकै बेला अचानक मुटुमा करेन्ट प्रवाह बन्द भएर मानिसको मृत्यु हुने अवस्था आउन नदिन मुटुमा आवश्यकता अनुसार करेन्ट प्रवाहका लागि अत्याधुनिक पेसमेकर आईसीडी जडान गरिन्छ ।” डा सिलवालले भन्नुभयो । 

मुटुको करेन्ट उत्पादन हुने ठाँउमा जोडिएको आईसीडीको तारले कुनै कारणवश मुटुमा करेन्ट उत्पादन हुन नसकेको अवस्थामा काम गर्न थाल्छ । यो प्रविधिले स्वचालित रुपमा मुटुको चाल अवलोकन गर्ने भएका कारण सामान्य अवस्थामा निष्क्रिय रहने मुटुरोग विशेषज्ञ सिलवालले जानकारी दिनुभयो ।

यो प्रविधि जडान गर्न पाँच लाख रुपैँया लाग्ने शिर मेमोरियल अस्पतालले जनाएको छ ।  नर्भिक अस्पतालमा कार्यरत डा सिलवाल हप्तामा एक पटक सेवा दिनका लागि शिर मेमोरियल अस्पताल काभ्रे जाने गर्नु भएको छ । 

तपाईंको बिचार