काठमाडौं २६ बैशाख । खासगरी तराईमा मात्र देखापर्ने र तराईमा मात्र लगाइने गरेको जापनिज इन्सेफलाइटिस रोगविरुद्धको खोप पहाडी तथा हिमाली जिल्लामा पनि लगाइदैछ । इन्सेफलाइटिस रोगविरुद्धको खोप आजदेखि लगाइदै छ ।
लामखुट्टेले टोकेपछि लाग्ने यो रोग बिस्तारै पहाडी तथा हिमाली जिल्लामा पनि देखापर्न थालेपछि देशभरका ४७ जिल्लामा जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
१ देखि १५ वर्ष उमेरभित्रका सबै बालबालिकालाई लगाइने खोप अभियान एक महिनासम्म सञ्चालन गरिनेछ ।
सबै बालबालिकाको घरमा जानुअघि नै स्वयंसेवकमार्फत घरघरमा खोप लिन खोप केन्द्रमा आउनका लागि निमन्त्रणा पठाइसकिएको छ । अभियान सञ्चालन हुने नयाँ जिल्लाअन्र्तगत पूर्वाञ्चल क्षेत्रका १३ जिल्ला भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सुनसरी र तेह्रथुम जिल्ला रहेका छन् । यीमध्ये झापा, मोरङ र सुनसरीमा दोहो¥याएर खोप दिन लागिएको हो ।
मध्यमाञ्चल क्षेत्रका पाँच जिल्ला दोलखा, नुवाकोट, रामेछाप, रसुवा र सिन्धुपाल्चोक छन् । पश्चिमाञ्चल क्षेत्रका ११ जिल्ला अर्घाखाँची, बागलुङ, गोरखा, गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहँु छन् ।
मध्यपश्चिमाञ्चलबाट ११ जिल्ला दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, प्यूठान, रुकुम र सल्यानमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
त्यस्तै, सुदूरपश्चिमाञ्चलका सात जिल्ला अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला र डोटीमा पनि खोप कार्यक्रम सुरु हुनेछ ।
सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत जापनिज इन्सेफलाइटिस रोगलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ । यसै क्रममा बढी प्रभावित ३१ जिल्लामा खोप अभियान सञ्चालन भई नियमित खोप सेवामार्फत खोप प्रदान गरि“दै आएको छ ।
बालस्वास्थ्य महाशाखाका अनुसार यो रोग अन्य पहाडी तथा हिमाली जिल्लामा पनि देखापर्दै गएकाले आर्थिक वर्ष २०७३÷०७४ देखि बाँकी ४४ जिल्लामा अभियानपछि नियमित खोप सेवाअन्तर्गत नै खोप दिइनेछ ।
रोगबाट बढी प्रभावित भएका ३१ जिल्लामध्ये झापा, मोरङ र सुनसरी जिल्लामा विगतका वर्षमा बिरामी बढेकाले यस आवमा भइरहेको अभियानमा समावेश गर्न लागिएको हो ।
यो रोगका बिरामीमध्ये ७२ प्रतिशत तराईमा र बाँकी २८ प्रतिशत बिरामी पहाडी र हिमाली जिल्लामा देखिएकाले देशभरि नै यो रोगको फैलिँदै गएको महाशाखाको भनाइ छ । यो रोग मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकार रोग हो ।
सबै उमेर समूहका मानिसलाई लाग्ने भए पनि सरदर ८५ प्रतिशत रोगका बिरामी १५ वर्षमुनिका बालबालिकामा देखिएको तथ्यांक छ ।
तपाईंको बिचार