सन्दर्भ : भ्यालेन्टाइन -संघर्ष र माया प्रेम

श्रीमानकै साथले बद्लियो सपना (अडियो सहित)

प्रकाशित मिति: 2016-05-03
राजन रुचाल

काठमाडौंको बुद्धनगरस्थित सानो गल्लीभित्रको एक घर, सार्वजनिक विदाको दिन, आईतबार बिहान १० बजे तिर पुग्दा रामप्रसाद सुवेदी र गायत्री पौडेलको तयारी भान्छामा ढिँडो पकाउने हुँदै थियो ।

ढिडो पकाउने तयारी थाँती राखेर सुरु गरिएको अनौपचारिक कुराकानीमा एकअर्कासँग भेटेको, देखेको अनि विवाह भएको समय १७ वर्षअघिको पौडेल र सुवेदी दुवैले सम्झना गर्नुभयो ।

त्यसवेला रामप्रसाद सुवेदी सरकारी अधिकृत हुनुहन्थ्यो भने गायत्री पौडेलले बिज्ञान विषयमा स्नातकोत्तर सक्नु भएको थियो । रामप्रसादसँग विवाह हुनुअघि शिक्षिका बन्ने सपना भए पनि बिहेपछि भने श्रीमानको साथसंगत र सुझावमा निजामति सेवामा लाग्ने रहरले गायत्रीको सपना फेरियो ।

बच्चाबच्ची हुर्काउँदै लोकसेवाको तयारी गर्नु चानचुने कुरा थिएन तर नगरी पनि सुखै थिएन । ५ वर्षअघि गायत्री पोडेलले लेखा अधिकृतमा नाम निकाल्नुपछिको श्रेय श्रीमान रामप्रसादलाई दिनुहुन्छ ।  


एक छोरा र एक छोरीको आमा हुँदा पनि गायत्रीको पढ्ने जाँगर मरेन । गायत्रीका अनुसार ज्योतिषीले त सरकारी जागिर नमिल्ने बताएका थिए तर त्यसलाई गलत सावित गरिदिनुभयो सरकारी कर्मचारी भएर । गायत्रीका श्रीमान रामप्रसाद भन्नुहुन्छ, “मिहेनत गरेपछि ज्यातिषीवाणी पनि फेल खायो ।”

श्रीमान रामप्रसाद अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उप सचिवको जिम्मेवारीमा हुनुहुन्छ भने श्रीमती गायत्री, स्थानिय विकास मन्त्रालय अन्तर्गत लेखा अधिकृत हुनुहुन्छ । घरको सरसफाई देखि भान्छासम्मै श्रीमानको सहयोगले अचेल गायत्रीलाई उप सचिवको तयारी गर्न पनि सजिलो भएको छ ।

श्रीमान श्रीमति भएपछि सामान्य ठाक्कठुक्क पर्नु स्वभाविकै लाग्छ यो जोडीलाई । तर ठूलो झगडा परेर बोलचाल नै बन्द भएको कुनै घटना छैन । श्रीमानको नरिसाउने बानी गायत्रीलाई सबभन्दा मन पर्छ ।  

एकले अर्कालाई सहयोग गरेको वा बनाएको भन्न मन लाग्दैन रामप्रसादलाई । दुवै सक्षम भएर अघि बढेको उहाँको बुझाई छ ।


झण्डै ४५ मिनेटको कुराकानी पछि दुवैजना भान्छामा छिर्नुभयो । गायत्रीले दाल, तरकारी तयार पार्नुभयो, श्रीमान रामप्रसादको भागमा ढिंडो बनाउने पालो ।

ढिंडो पाकिसकेपछि श्रीमति गायत्रीले खाना पस्कन थाल्नुभयो । श्रीमान रामप्रसाद चाँही लाग्नुभयो भाँडा पखाल्नतर्फ । एकैछिनपछि एक छोरा र एक छोरीसहित ४ जनासँगै बसेर पस्केको आआफ्नो भाग खानेक्रम सुरुभयो ।

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार