रगत भन्दा महंगो भयो पानी

एक गाग्रो पानी लिन रातभर जाग्राम, दिनचर्या विथोलियो

प्रकाशित मिति: 2016-04-29
विकास तिमल्सिना प्राइम एफएम काभ्रे

काभ्रे । काभ्रेको बल्थली–९ स्थित थुम्की गाउँसँगै रहेको जंगलको बीचमा एउटा सानो धारो छ । यो धारोमा दिनभरि नै मानिसको भीडभाड देखिन्छ । जम्मा एक गाग्रो पानीका लागि । २०७२ वैशाखमा गएको भुकम्पमा पानीको मुहान सुकेपछि झण्डै ९० घरधुरी रहेको थुम्की गाउँका लागि बाँच्ने आधार यही धारा मात्रै बाँकी छ । 

त्यो पनि अहिले सुक्दै गएको छ । पानीका लागि दिनभर कुर्दा पालो नपाइने भएपछि रातभर जाग्राम बस्नुपर्ने थुम्कीका नागरिकको दैनिकी बनेको छ । स्थानिय सुन्तली विक पानीको मुहान सुकेदेखि निदाउन समेत नपाएको बताउनुहुन्छ । 

विगतमा पशुपालनबाट नै मनग्ये आम्दानी गर्दै आएका थुम्कीबासी अहिले पानीको अभावकै कारण धमाधम बस्तुभाउ बिक्री गर्न थालेका छन् । ‘मानिसका लागि पिउने पानी त छैन, कसरी पाल्नु बस्तु भाउ ?’ स्थानीय कमला न्यौपाने दुःखेसो पोख्नु हुन्छ ‘अहिले त हाम्रा लागी पानी रगत भन्दा पनि महंगो बनेको छ ।’

विगतमा तरकारी खेती गरेरसमेत प्रशस्तै तरकारी बेच्ने गरेका थुम्कीबासी अहिले तरकारी किन्न थालेका छन् । किनेको तरकारीसमेत पानी अभावकै कारण पकाएर खान समस्या छ भन्नुहुन्छ मैया न्यौपाने । ‘तरकारी त किनौला पखाल्ने पानी छैन’ उहाँले भन्नुभयो ‘पानीको अभावमा धेरैजसो निस्तै खाने गरिन्छ । ’

गत बर्ष वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण काभ्रेका अधिकांश ठाउँमा पानीका मुहान सुकेका छन् । केही ठाउँमा थोरै मात्रामा आइरहेको पानी पनि सुख्खा याम सुरु भएसँगै सुक्न थालेको छ । काभ्रेको बल्थली ९ थुम्कीका बासिन्दा खानेपानीका लागि रातभरसमेत जाग्राम बस्ने गरेका छन् ।

भूकम्पका कारण पानीको मुहान सुकेपछि दुःखको खात नै लागेको छ । घन्टौं लाइनमा बसेर पानी भर्दा दैनिकी त विथोलिएको छ  पानीकै कारण गाउँमा झगडासमेत पर्न थालेका छन । 

२०७२ वैशाख १२ गतेको भुकम्पपछि गाउँमा ट्यांकीले समेत थेग्ने नसक्ने गरी पानी आयो । तर, २९ गते गएको अर्को भुकम्पले पानीको मुहान ठप्पै सुक्यो । बैकल्पिक व्यवस्था गरिएको धारोसमेत सुक्न थालेको छ । गाविसमा समस्या राख्दा पनि समाधानको पहल नगरेको स्थानीय माधव न्यौपानेको गुनासो छ ।

वर्षौंदेखि उपयोग गर्दै आएका पानीका मुहान र पँधेरा कसरी सुके होलान ? हरेकले अचम्म मान्दै प्रश्न गरिरहेका छन् । तर नत उत्तर भेटिएको छ न समाधानको बाटो ।  

तपाईंको बिचार