फर्केर हेर्दा २०७२ : अध्यारो बढी उज्यालो कम

प्रकाशित मिति: 2016-04-13
सोविता रिसाल

काठमाडौं । केही सुखद र केही दुखद परिणामका साथ २०७२ साल हामीबाट बिदा भएको छ । आज हामी नयाँ बर्षको पहिलो दिनमा उभिएका छौ । २०७२ नेपाल र नेपालीको लागि थोरै खुसी तर बढि पीडा दिएर विदा भयो । 

भूकम्प, संविधान, नाकाबन्दी लगायतका महत्वपूर्ण घटनाले २०७२ साल मुलुकका लागि इतिहासमै सबैभन्दा बढी उथलपुथलको वर्ष बन्यो । बर्ष ७२ को शुरुमा नै देशले  २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापालाई गुमायो ।  वैशाख १२ गते गएको ७ दशमलब ८ म्याग्निच्युडको भूकम्पले आठ हजार ८ सय भन्दा धेरैको मृत्यु भयो ।  २२ हजारभन्दा बढी घाइते भए । 

निरन्तरको पराकम्पन र २९ गतेको ठुलो पराकम्पनले नागरिकहरु त्रासमा बाच्न बाध्य भए । भूकम्पपछिको पून निर्माणका लागि सरकारले असार १० गते अन्तराष्ट्रिय दाता सम्मेलन’ ग¥यो । सम्मेलनबाट करिब साढे चार खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका थिए । भूकम्पले थिलथिलो भएको देशमा भदौ ३० गते संविधानसभाबाट दुई तिहाइभन्दा बढी बहुमतले पारित नेपालको संविधान असोज ३ गते मुलुकको पहिलो राष्ट्रपति डा रामवरण यादवद्वारा लागू भएको घोषणा भयो । 

ठूलो भूकम्पले देशमा राजनितिक सहमति निर्माण गर्यो, त्यहि सहमतिले संविधान बन्यो । जुन नेपालीको लागि सुखद नै भएपनि त्यही संविधान जारी भएपछि असन्तुष्ट मधेसी मोर्चाले आन्दोलन ग¥यो । थारु आन्दोलनका क्रममा कैलालीमा प्रहरी र आन्दोलनकारीबिच दोहोरो झडप भयो । 

नेपालको संविधान जारी भएलगत्तै देशमा नयाँ सरकार गठन भयो, प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आउनुभयो । नयाँ संविधानअनुसार भएको राष्ट्रपतिको निर्वाचनबाट देशमा पहिलो महिला सभामुख र पहिलो महिला राष्ट्रपति समेत चुनियो  । 

सत्ता परिवर्तन, राष्ट्रपति र सभामुख चयनको समयमा पनि मधेस आन्दोलन जारि नै रह्यो । लामो मधेश आन्दोलन र भारतको नाकाबन्दीका कारण नेपाली जनताले झन्डै पाँच महिना पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामाग्रिको अभाव व्यहोर्नु पर्यो ।

यसै वर्ष पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा माघ २६ गते असामयिक निधन भयो । यसै वर्ष  काँग्रेसको १३औँ महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गर्यो । चैत ६ देखि बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’को नेपाल भ्रमण भयो ।  

लामो सयमपछि नेपाली फुटबलमा  म्याच फिक्सिङको प्रमाणित भयो, कप्तान सहितका खेलाडि निलम्बनमा परे । बङ्गलादेशमा सम्पन्न बङ्बन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीले त्यसको केही समयपछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक हात पार्यो । 

हवाई तथा सडक यातायातको क्षेत्र पनि यो वर्ष दुःखद रह्यो । फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको निधन भयो भने नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटना हुँदा चालकद्वयले आफू मरेर नौजना यात्रुको ज्यान जोगाए ।  आजै मात्रै पनि खोटाङमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भयो । 

संविधान निर्माण, संविधानको कार्यान्वयनको बाटोमा रहनु सुखद छ । यस्तै महिला नेतृत्वमा पुग्नु पनि सुखद भयो । तर भूकम्प, नाकाबन्दी, बन्द हडतालले देशलाई घाटा लाग्यो, लामो खडेरी र आगलागिको क्षति अहिले देशभरी भोग्नु परिरहेको छ ।

केही सकारात्मक छाप छोडेर बर्ष ७२ बिदा भयो । राजनितिक स्थायीत्वका साथ संविधानको कार्यान्वयन र पुर्ननिर्माणमा नयाँ बर्ष ७३ सफल रहोस यहि हाम्रो शुभकामना छ  । 

तपाईंको बिचार