दाजुभाईको विवादमा मल्हम बन्यो ‘सामुदायिक मेलमिलाप’

प्रकाशित मिति: 2016-03-25
मोतीराम तिमल्सिना, प्राईम एफएम, काभ्रे

काठमाडौं । जग्गा तथा घरायसी विवाद पर्दा नजिकैको प्रहरी चौकी तथा जिल्लामा रहेको प्रशासनमा हारगुहार गर्ने भन्ने बुझेका काभ्रे श्यामपाटी गाविसका दुतलाल तामाङ र अर्जुन तामाङ गाउँमै खुलेको मेलमिलाप केन्द्रले विवाद समाधान गरी सम्वन्ध समेत सुधार गरिदिएपछि दंग परेका छन् । 

काभ्रेपलाञ्चोक जिल्लामा शुरु भएको मेलमिलाप कार्यक्रमले समाजमा खल्बलिएका सम्वन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्न थालेको छ । 

हजुरबुबाको नाममा रहेको जग्गालाई अशंबन्डा तथा सम्पत्ती भागबन्डा गर्ने विषयमा भएको विवादले दुई जना बीच कुटाकुट समेत भएको थियो । उनीहरु एकले अर्काेलाई देखाउने नाममा प्रहरी र अदालत सम्म जाने मनस्थितिमा थिए ।

एउटै घरमा मिलेर बसेका दाजुभाई सम्पतिकै कारण भएको विवादले तनावमा थिए । दुबैलाई जग्गा चाहिएको थियो तर दिनु पर्ने पक्षले दिन आनाकानी गरेपछि विवादले कुटाकुटको रुप लिएको थियो । दुबै जना सामान्य लेखपढ मात्रै गर्न जान्ने भए पनि पसलमा भएका छलफल र रेडियोमा प्रसारण भएका सामाग्रीहरु प्रति रुचि राख्थे ।

विवादित पक्ष मध्येका एक अर्जुन तामाङले आफ्ना हजुरबुबालाई आफुले लालनपालन गरेकाले उहाँका नाममा भएको जग्गा आफुले पाउनु पर्ने अडानमा थिए । तर दुतलालले अर्जुन आफ्नै सन्तान नभएको र अर्काे बाबुबाट जन्मिएर आमासँगै आएकाले भगाई ल्याएको सन्तान भएकाले उक्त जग्गामा उसको भन्दा आफ्नो हक लाग्ने भएकाले आफुले पाउनु पर्ने अडानमा थिए । त्यहि अडानले विवाद हुँदै कुटाकुट भएको थियो । 

विवाद भएपछि अर्जुनले गाविस कार्यालयमा सामुदायिक मेलमिलाप केन्द्र खुलेको र त्यहाँ यस्ता विवादहरु समाधान हुने खवर रेडियो र स्थानीय स्तरमा रहेका मेलमिलापकर्ताहरुबाट सुनेका थिए । फागुन २६ गते अर्जुनले सामुदायिक मेलमिलाप केन्द्र श्यामपाटीमा निवेदन दर्ता गराए । 

हजुरबुबाको नाममा रहेको अशंबन्डा सम्पत्ती बराबर बाडफाड गर्ने विषयमा दुबै सहमत भएपछि अंगालो हालेका थिए । ‘मुद्दामामला गरेको भए सम्पत्ति, सयम सबै जान्थ्यो अहिले दुईटैको जित भयो । 

समुदायमा उत्पन्न हुने विवाद समाधानका लागी संचालन गरिएको सामुदायिक मेलमिलाप कार्यक्रमको परिधी भित्र विवाद दर्ता हुन आएपछि मेलमिलाप केन्द्रका संयोजक निर्मला खकुरेलले गाउँ विकास समितिमा टाँस गरिएको मेलमिलापकर्ताहरुको सूची देखाउनु भयो र तीन जना मेलमिलापकर्ता छान्न अनुरोध गर्नुभयो ।

पहिलो पक्ष अर्जुनले मेलमिलापकर्ता छनौट गरिसकेपछि संयोजकले दोस्रो पक्षसंग सम्पर्क गरी पुनः मेलमिलापकर्ताहरु छान्न लगाउनु भयो । दुबै पक्षलाई सम्पर्क गरिसकेपछि विवाद समाधानका लागी समय र स्थानको तय गरि मेलमिलापको सबै प्रक्रिया अपनाएर विवाद समाधान शुरु भयो ।

विवाद समाधानका लागि निवेदन दर्ता भएकै दिन विवाद समाधान भयो । मेलमिलापकर्ताहरु मन्जित तामाङ, निरेश लामा र सम्झना श्रेष्ठले विवादित पक्षहरुको मन जित्नु भयो र प्रकृयामा विवादित दुबै पक्ष सहमत हुनुभयो । 'मेलमिलाप केन्द्रमा आएर विवाद मिल्नुका कारणहरु दुबैले बताएपछि मेलमिलापकर्ताहरुलाई सहज भयो । सम्पुर्ण परिवारको इज्जतमा धक्का पर्ने गरी गाली बेईजती शब्द कहिल्यै नबोल्ने।,

हजुरबुबाको नाममा रहेको अशंबन्डा सम्पत्ती बराबर बाडफाड गर्ने विषयमा दुबै सहमत भएपछि अंगालो हालेका थिए । ‘मुद्दामामला गरेको भए पनि आखिर हुने त्यहि नै रहेछ’– विवादित मध्येका दुतलाल तामाङले भन्नुभयो–‘बेकार झगडा गरेर समय र खर्चको बर्वाद त हुन्थ्यो नै हामी दाजुभाई बीच मनमुटाव हुँदा आपत परेको बेलामा समेत घरको दाजुभाई छाडेर अन्यत्र सहयोगका लागि गुहार्न जानु पर्दथ्यो ।’ ‘मेलमिलाप केन्द्रले साच्चै हामी दाजुभाई विचको सम्वन्ध मात्रै सुधारेको छैन, भोली हुने घटनालाई समेत रोकिदिएको छ’–अर्जुनले भन्नुभयो ।

काभ्रेपलाञ्चोक जिल्लामा शुरु भएको मेलमिलाप कार्यक्रमले समाजमा खल्बलिएका सम्वन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्न थालेको छ ।

७५ गाउँ विकास समिति र ५ वटा नगरपालिकामा तालिमप्राप्त मेलमिलापकर्ताहरुले सिप र विधीद्वारा कानुनमा नबाझिने खालका विवादहरु मिलाउन शुरु गरेपछि जिल्लाभर केन्द्रमा मिलापत्रका लागि निवेदन आउने क्रम शुरु भएको सामुदायिक मेलमिलाप कार्यक्रम जिल्ला संयोजक सरिता सापकोटाले बताउनुभयो ।

६० गाउँ विकास समिति र चारवटा नगरपालिकामा मेलमिलाप केन्द्र खुलिसकेको सापकोटाले बताउनु भयो । पाँचखाल नगरपालिकामा केन्द्र खुलेकै दिन नगरपालिकाले विवाद समाधानका लागि केन्द्रलाई हस्तान्तरण गरेको थियो ।

स्थानीय निकायमा आउने विवादलाई नगरपालिका र गाउँ विकास समितिहरुले समाधानका लागि मेलमिलाप केन्द्रमा सिफारिस गर्न थालेको संयोजक सापकोटाले बताउनु भयो । हालसम्म १ सय भन्दा धेरै विवादहरु केन्द्रहरुबाट मिलापत्र भइसकेका छन् । 

मेलमिलापतिर फर्किदै इजलासका मुद्दा (अडियोसहित) 

टुटेको मन, छुटेको सम्बन्ध जोड्दै मेलमिलाप 

तपाईंको बिचार