हलिउड् सपना पछ्याउँदै राजनीतिक ‘हिरो’ बनेर अस्ताए कोइराला

प्रकाशित मिति: 2016-02-09
लिलप्रकाश चन्द

काठमाडौं २६ माघ । 
पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ मा स्वर्गीय सुशील कोइरालाको जन्म भएको थियो । विराटनगरमा जन्मनु भएका कोइराला वुवा बोधप्रसादको वन अधिकृतको जागीरका सिलसिलामा बाँकेको नेपालगञ्ज पुग्नु भएको थियो ।

त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्ज मै भएको हो । विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय सुशील कोइराला वि.सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उहाँ १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहनु भएको थियो ।

नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताउनु भएका कोइराला वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नु भएको थियो । २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा पनि सुशील कोइरालाले सक्रिय सहभागिता जनाउनु भएको थियो । 

बीपी कोइरालाको निधनपछि नेता गिरिजाप्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशिलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गर्नु भएको थियो । 

पार्टीको एघारौँ महाधिवेशनपछि सुशील कोइरालाले पार्टीको कार्यवाहक सभापतिका रुपमा काम गर्नुभयो । स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी कोइराला र गिरिजाप्रसादको निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा उहाँको महत्वपूर्ण योगदान थियो । 

२०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गर्नु भएका सुशील कोइराला तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ मा बाँके जिल्लाबाट निर्वाचित हुनु भएको थियो । सन् २००१ मा पार्टीको संसदिय दलको नेतामा भने उहाँ बरिष्ठ नेता शेरबहादुर देउबासँग पराजित हुनु भएको थियो । 

१२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति चुनिदा सुशिलले १ हजार ६ सय ५२ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी देउवाले १ हजार ३ सय १७ मत मात्रै प्राप्त गर्नु भएको थियो । ५० वर्षभन्दा बढि समय राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटकपटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गर्नु भएको थियो । 

२०४६ सालको जनआन्दोलनपछि २०४८ र २०५६ मा बाँके क्षेत्र नं. २ बाट पनि सुशील कोइराला विजयी हुनु भएको थियो । दोस्रो संविधानसभामा चितवन ४ र बाँके क्षेत्रनम्बर ३ बाट निर्वाचित हुनु भएको थियो । २०७० माघ २७ गते व्यवस्थापिका संसदको वैठकमा दुई तिहाई मत ल्याएर मुलुकको ३७ औं प्रधान मन्त्रीमा कोइराला चयन हुनु भएको थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि उहाँको राजनीतिक यात्रा सुरु भएको हो । 

जीवनभर अविवाहित कोइरालाले २०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिनु भएको थियो । कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरेपछि बदलिएको घटनाक्रमसँगै उहाँको कलाकार बन्ने सपना बदलिएर राजनीतिकमा होमिनु भएको हो ।

सुशील कोइरालाको फिल्मी क्षेत्रमा हलिउडको हिरो बन्ने चाहाना थियो तर राजनीतिक हिरो बनेर अस्ताउनु भएको छ ।

तपाईंको बिचार