विवाह नक्कली, दुःख सक्कली

प्रकाशित मिति: 2016-02-08
गोविन्द खड्का

कागजी विवाहबाट भित्रने प्रक्रियामा कोरियन सरकारले कडाइ गरेपछि अहिले म्यारिज ब्युरोमार्फत् नेपाल आएर 'सामान किने झैं' छानीछानी नेपाली महिला कोरिया  लग्ने गरिएको छ ।

काठमाडौं २५ माघ । कोरिया सपनासहित भाषा परीक्षा पास गरेका सयौं युवा अहिले पनि जाने प्रतिक्षामा छन् । केही महिला पैसा कमाउने र कोरियाको नागरिक बन्ने उद्देश्य सहित नयाँ बाटोबाट कोरिया पुगिरहेका छन् । नयाँ बाटो हो, सक्कली र नक्कली विवाह ।

कोरियनसँग विवाह गरेका नेपाली महिलाले दुःख भने सक्कली भोग्नु परेको छ । कोरियन पुरुषसँग विवाह गरेकी धादिङकी २५ बर्षीया गौरीमाया तामाङले गएको जेठमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । कोरियनसँग विवाह गरेर कोरिया पुगेका महिलाले हिंसा सहन नसकि मृत्युवरण गर्नु परेको सम्भवत: यो पहिलो घटना हो ।

पछिल्लो समय कोरियनसँग विवाह गरेका नेपाली महिलाले चरम घरेलु हिंसा खेप्नु परेको समाचार सार्वजनिक भैरहेका छन् । तर पनि कोरिया भित्रिने नेपाली महिलाको सङख्यामा कमी आएको छैन् । नेपालका र कोरियाका म्यारिज व्यूरोहरु झन सक्रिय हुँदै गइरहेका छन् ।

कागजी विवाहबाट भित्रने प्रक्रियामा कोरियन सरकारले कडाइ गरेपछि अहिले म्यारिज ब्युरोमार्फत् नेपाल आएर 'सामान किने झैं' छानीछानी नेपाली महिला कोरिया लगिरहेको पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङको भनाइ छ ।

म्यारिज ब्युरोले भन्छन् ‘विवाह केवल नाटक मात्र हो । कोरिया पुगेपछि आफ्नो–आफ्नो बाटो लाग्ने हो  । ’ तर कोरियन लोग्नेले पनि पैसा खर्च गरेर दुलही ल्याएको हुन्छ । उसले पनि पैसा खर्च गरेर ल्याए पछि दुलहीकी रुपमा बसोस बन्ने चाहन्छ ।

उहाँ भन्नुहुन्छ, “कोरियन केटाहरुले साच्चिकै नेपाली महिलासँगै विवाह गर्न चाहन्छन् । नेपाली म्यारिज व्यूरोमा सम्पर्क गरी नेपाली युवतीसँग विवाह गर्छन् । तर नक्कली विवाह भन्ने थाहा पाएपछि उनीहरुले पिट्ने, खान लाउन नदिने लगायतका हिंसा गर्नुका साथै सम्बन्ध बिच्छेद पनि गर्छन् । त्यसपछि नेपाली महिला अलपत्र पर्छन् ।”

नेपालका म्यारिज व्यूरोले कतिपय चेलीलाई पैसा लिएर अनेक लालचा देखाउदै ढाँटेर कोरियालीसँग विवाह गराई दिने गरेका कारण पनि समस्या झेल्नु परेको अध्यक्ष गुरुङको तर्क छ । कोरियामा रहेको नेपाली राजदूतबासको सन् २०१२ को तथ्याङ्कले १ हजार ४६ नेपाली महिलाले कोरियाली पुरुषसँग वैवाहिक सम्बन्ध गाँसेको देखाएको छ । कतिले छोडपत्र गरे, कतिको घर व्यवहार राम्रो छ, कहाँ कसरी बसेका छन् कुनै अध्ययन अनुसन्धान हुन सकेको छैन । 

त्यस यताको अवधिमा कति थपिए एकिन तथ्याङ्क सार्वजनिक भएको छैन । काठमाडौंमा रहेका म्यारिज ब्यूरोलाई ३ देखि १० लाख रुपैंयाँ बुझएपछि जिल्ला प्रशासनका कर्मचारीकै मिलेमतोमा नक्कली विवाह सम्पन्न हुन्छ ।

म्यारिज ब्युरोले भन्छन् ‘विवाह केवल नाटक मात्र हो । कोरिया पुगेपछि आफ्नो–आफ्नो बाटो लाग्ने हो  । ’ तर कोरियन लोग्नेले पनि पैसा खर्च गरेर दुलही ल्याएको हुन्छ । उसले पनि पैसा खर्च गरेर ल्याए पछि दुलहीकी रुपमा बसोस बन्ने चाहन्छ । दालले कोरियनको पैसा पनि लिन्छन् नेपाली चेलीबाट मोटो रकम असेलेका हुन्छन् । 

अध्यक्ष गुरुङ भन्नुहुन्छ, “कोरियालीसँग बिहे गरे मासिक १ लाख रुपैंयाँ सजिलै कमाउन सकिने र पछि नेपालबाट आफ्नो परिवार पनि लैजान पाइन्छ भन्ने विश्वासमा महिलाहरु कोरियालाई आफ्नो गन्तब्य बनाउँदैछन् । ३ देखि १० लाख रुपैंयाँ पाएप्छि काठमाडौंमा रहेका म्यारिज ब्यूरोले जिल्ला प्रशासनका कर्मचारीलाई हातमा लिएर नक्कली विवाह पनि गरिदिन्छन् ।”

म्यारिज व्यूरोको नाममा हुने गरेको यस्ता मानव तस्करलाई रोक्न सरकारी संयन्त्रबाट खासै पहल नभएको कोरियामा बस्ने नेपालीको समस्याका बारेमा विद्यावारिधी गरेकी डाक्टर माधवी भट्ट बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ “आफन्तले नैं धेरै पैसा कमाउन सकिन्छ भन्दै कोरियनसँग विवाह गरी पठाएका महिला पनि पीडितको सूचीमा पर्छन् । पैसाकालागि मात्रै विवाह गरेको थाहा पाउँदा कोरियालीले अलपत्र छाड्ने, साँचो विवाह गरेकाहरुले खेप्ने हिंसाका कारण कोरियामा अलपत्र पर्ने महिलाको संख्या बढ्दै गएको छ ।”

सरकारी तथ्याङक अनुसार कोरियामा १७ हजार ६ सय ७४ नेपाली बसोबास गर्छन् । सन् १९८८ देखि नैं नेपालीहरु जान थालेको भए पनि २००४ देखि ईपीएस अन्तर्गत कामका लागि सरकारले नै दक्षिण कोरिया पठाइरहेको छ । ईपीएसबाट गएका कामदारलाई परिवारसहित कोरिया जान प्रचलित कानुनले रोकेको छ । कोरियामै गैरकानुनी रूपमा बसेका र गैरकानुनी बन्ने सम्भावना भएका पनि कागजी विवाहका माध्यमबाट स्थायी बसोवासको व्यवस्था मिलाउने प्रयत्नमा छन् ।

बाध्यताबस कोरियनसँगै बस्नुपर्दा आन्तरिक कलह बढ्न जान्छ । विदेशी बुहारी, कोरियनहरुसँग भाषा, संस्कृति, रिती रिवाज मिल्दैन । त्यसपछि घरेलु हिंसाको चपेटामा महिलाहरु पर्ने गरेको गुरुङ बताउनु हुन्छ । 

“एउटै राष्ट्रियता र उस्तै संस्कृतीबीच भएको विवाहमा त असमझदारी हुन्छ भने छुट्टै देश र फरक संस्कृतीबीचको वैवाहिक सम्बन्धमा किन विचार गरिँदैन ? यो महत्वपूर्ण प्रश्न हो ।” डाक्टर माधवी भट्ट भन्नुहुन्छ, “नक्कली होस् वा सक्कली नेपाली महिला र कोरियन पुरुषबीचको विवाहलाई स्वार्थपूर्तिको माध्यम बनाउन खोजे यस्तै पीडा र दुखद अवस्था निम्तिन सक्छ ।”

तर विवाह गरेर कोरिया पुग्ने साच्किै घरजम गर्ने नेपाली चेलीहरु मध्ये सुखद जीवन जिउनेको संख्या पनि कमी भने छैन । 

तपाईंको बिचार