१ सय ३५ दिनमा रक्सौल नाका खुल्यो

नाका खुलेपछि नाका हुँदै आवातजावत सुरु

प्रकाशित मिति: 2016-02-05
सुरेश बिडारी, नारायणी एफएक

माघ २२, वीरगञ्ज । १ सय ३५ दिनपछि रक्सौल नाका खुलेपछि नाका हुँदै आवातजावत सुरु भएको छ । दिउँसो १ बजेतिरबाट खुलेको नाकाबाट धमाधम सवारी साधन ओहोरदोहोर गरिरहेका छन् ।

असोज ७ गते देखि मधेसी दलका नेता कार्यकर्ताले धर्ना दिएर ठप्प पारेको नाका आजदेखि सहज भएको हो । मधेसी दलका नेता, कार्यकर्ताहरु मितेरी पुलमा धर्नामा बसेर बन्द गरेको वीरगन्ज रक्सौल नाका वीरगञ्ज– रक्सौलका व्यापारीहरुले आजबाट खोलाएका हुन् ।

उनीहरुले नाकाबन्दी गर्ने भए सबैतिर गर्नुपर्ने वीरगञ्ज मात्रै गर्न नपाउने भन्दै नाकामा बस्न नदिने बताएका छन् । नाकामा धर्नाकारीलाई नभएपछि जाँच पास भएर बसेका सवारी सधान र समान भारतीय भन्सारले छोडिरहेको छ ।

अपरान्ह सम्म ५० वटा भन्दा बढी साधन ओहोरदोहोर भैसकेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । नाका हुँदै आएका ४ नयाँ ट्रिपर, ६ जटा नयाँ गाडीका चेचिस, ४ कन्टेनर, ३ वटा ट्रक वीरगञ्ज भन्सार कार्यालय यार्डमा छिरेका छन् ।

नाकाबन्दी शुरु हुनु अघिदेखि अलपत्र परेका दुई वटा ट््याङ्कर समेत नेपाल भित्रिएका छन् । दर्जनौ ठेला, रिक्सा, टाँगा तथा टेम्पोमा रक्सौलबाट समान आईरहेका छन् ।

यसअघि व्यापारीहरुले नाकामा धर्ना दिन टाँगिएको टेण्टहरु आगो लगाईदिएका थिए । धर्नास्थलमा धर्नाकारीहरु एकदुई जना मात्रै रहको समयमा आएर उनीहरुले आगजनी गरेर नाका खुलाई दिएका थिए ।

नाका अवरुद्ध गर्न टाँगिएको टेण्ट जलाईदिएपछि रिक्सा, टाँगा र टेम्पु आवतजावत गर्न थालेको सशस्त्र प्रहरी निरीक्षक उमेश आलेले बताउनुभयो । धर्नास्थलको अवस्था अहिले समान्य रहेको उहाँले बताउनुभयो । मितेरी पुल नजिकै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ  ।
 

यसैबीच तमलोपाका महामन्त्री जितेन्द्र सोनल मितेरी पुल नजिक पुगेका स्थानीयसँगको विवादपछि फर्किनु भएको छ ।

मधेशी मोर्चाको औपचारिक निर्णय नआउँदासम्म नाका खोल्न नदिने बताइरहेका सोनल र खुलाउन चाहने स्थानीयबीच विवाद भएपछि सोनल नाकाबाट फर्किनु भएको हो । महामन्त्री जितेन्द्र सोनलले पुनः नाकामा धर्नामा बस्ने बताउनुभएको छ । 

तपाईंको बिचार