नेतृत्वमा अब्बल गाँउका महिला

प्रकाशित मिति: 2016-01-27
सुरजकुमार भुजेल, मकवानपुर

मकवानपुर १३ माघ ।

मकवानपुर मार्खु गाउँका लागि ललिता थापाको नाम नौलो होईन । स्थानीय स्तरका बिभिन्न संघ, संस्था, समहुको नेतृत्व गर्ने थापा कालसिंङखोला सामुदायिक वनको अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको साथै उहाँ आफ्नै वडाको श्रीकृष्ण महिला समूहको पनि अध्यक्ष हुनुहुँन्छ । बाल्यकालमा स्कूल भर्ना नै नभएकी उहाँ बैठक पूस्तिकामा ल्याप्चे लाउनुहुँन्न। 

बाबु आमाले घरैमा सिकाएका कखराको भरमा ललिता, पर्चा पम्पप्लेटका अक्षर फुटाउन सक्नुहुँन्छ, आयआर्जन समूहको माइन्नयूटको निर्णय पढ्न फरर पढ्न सक्नुहुँन्छ । स्कूलै नगइ सिकेको शिक्षाको भरमा उहाँ गाउँमा हुने बैठक र भेलामा आफ्नो उपस्थित देखाउन सक्षम हुँनुभएको छ । महिलाहरुले केही गर्नै सक्दैनन् भन्ने भनाइलाई उद्धाङ्गो पार्न मार्खुका महिलाहरु क्रमशः सफल हुँदै गएको थापा बताउँछिन् बताउनुहुँन्छ । 

भेलाहरुमा बोल्दै नबोली बस्दा पद र नेतृत्वमा पुरुष मात्रै पुग्ने थापाको अनुभव छ । त्यही कुरालाई बुझेर पद र नेतृत्वको लागि आफै अग्रसर हुन थालेको उहाँ भन्नुहुँन्छ । केही वर्ष अघिसम्म कुनै पनि समितिमा सक्रिय नहुँनुभएकी थापा गाउँमा समूह र समितिहरु गठनको सुचना पाउनासाथ आफै उपस्थित हुँनुहुँन्छ । 

ललिता जस्तै मकवानपुरको थाहा नगरपालिका वडा नंबर ६ की गिता कार्की वर्षैदेखि सहकारीमा सक्रिय हुँनुहुँन्छ । सहकारीको समूहमा आवद्ध हुँदै उहाँ अहिले गाउँकै सहकारीको नेतृत्व गरिरहनुभएको छ । शिक्षण पेशा गर्दै आउनुभएकी गिता चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुँनुहुँन्छ । उहाँ महिला सशक्तीकरण समाज नामक गैर सरकारी संस्थाको पनि अध्यक्ष हुँनुहुँन्छ ।

महिला अधिकार प्राप्ती र विकासका लागि महिला नेतृत्व आवश्यक ठान्ने उहाँ घर परिवार, समुदाय र राष्ट्रले गर्ने महिला माथिको विभेद अन्त्य गर्नका लागि महिला नेतृत्व आवश्यक रहेको बताउँनुहुँन्छ । तर, यस्तो नेतृत्वको लागि ठूला ठूला पदमा पुग्न गाउँ स्तरबाटै महिलाहरु सक्रिय हुनुपर्ने कार्कीको भनाइ छ । 

आफ्नो भाग्य भन्दै निरुत्साहित भएर पिडामा परेका महिलाको अधिकार स्थापित गर्नका लागि पनि महिला नेतृत्व अपरिहार्य रहेको उहाँको भनाइ छ । महिलाको उत्साह जगाउन, सहभागिता सुनिश्चित गराउन पनि महिला सहभागिताको आवश्यकता औल्याउनुहुँन्छ कार्की । ‘महिलामैत्री कानून बनाउन, बनेका कानून कार्यावयनमा ल्याउन पनि महिला नेतृत्वमा हुनुपपर्छ’–कार्कीले थप्नुभयो । 

महिलाहरुले विभिन्न क्षेत्रमा सहभागिता बढाउँदै गए पनि कुनै न कुनै ढंगले भान्सामा जोडिनै पर्ने बाध्यता रहेको मार्खु गाउँ विकास समिति वडा नंबर ८ की न्हेमाडोल्मा छुमीको भनाई छ  । गाउँमा खानेपानीको समस्या बढ्दै जाँदा भान्सा चलाउनै गाह्रो हुँदा पुरुषहरुको सहयोग कमी हुँदै गएपछि आफू नेतृत्वका लागि अघि सर्नु परेको छुमीको अनुभव छ । उहाँ  अहिले मार्खु खानेपानी समितिको अध्यक्ष हुँनुहुँन्छ ।

नौ जनाको समितिमा दुई जना पुरुषले पनि सहयोग गरेका गर्नुभएको छ । तर नेतृत्व भने महिलाको छ । खानेपानीका धारामा चाहेको बेलामा पानी नआउँदा महिलालाई नै समस्या हुन थालेपछि त्यसको व्यवस्थापन पनि महिलाले नै गरेपछि सहजता आएको उहाँको भन्नुहुँन्छ । गाउँका महिलाहरुको भेलाले महिला नै खानेपानी समितिको नेतृत्व गर्नका लागि सुझाव दिएपछि त्यसको नेतृत्व आफैले गरेको उहाँको भनाइ छ ।

समुदायको संरचनाहरुमा महिलाहरुको सहभागिता बढ्दै जाँदा विकास निर्माणका लागि हुने निर्णायक बैठकमा पनि महिलाको सहभागिता बढ्न थालेको मार्खुकी सामाजिक परिचालक सम्झना बलामीले बताउनुभयो । गाउँ परिषद्को योजना तर्जुमा बैठकमा पनि तुलनात्मक रुपमा महिला सहभागिता बढेको बलामीको भनाई छ।

सामुदायिक वनमा पचास प्रतिशत महिला सहभागिता अनिवार्य गरेको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङ्तानको भनाई छ । त्यस्तै गाउँ तथा नगर क्षेत्रमा विकास निर्माणका लागि गठन हुने उपभोक्ता समितिमा पनि अध्यक्ष, सचिव वा कोषाध्यक्ष मध्ये एकजना महिला सहभागिता अनिवार्य गरेकोले पनि महिला नेतृत्व विकास र सहभागिता वृद्धि गर्न सहयोग मिल्दै गएको थाहा नगरपालिकाका योजना प्रमुख प्रकाश कुमार लामाले बताउनुभयो । 

तपाईंको बिचार