हाटबजारको दूरदशा बर्षामा हिलाम्य, हिउँदमा धुलाम्य

प्रकाशित मिति: 2016-01-25
तपेन्द्र कुँवर,रेडियो सुदुर सन्देश कैलाली

धनगढी, ११ माघ  । धनगढी उप–नगरमहालीकास्थित त्रिनगर कृषि उपज हाटबजारमा हिउँदमा धुलोे, वर्षातमा हिलो हुने लगायत थुप्रै समस्याका कारण व्यापारि र ग्राहकहरु समस्या भएको छ । धनगढी उप–महानगपालिकाद्वारा सञ्चालित त्रिनगर कृषि उपज हाटबजारको व्यवस्थापनको कमजोरिका कारण व्यवसायिहरुले सकेजति लाभ लिन सकिरहेका छैनन् भने व्यापार व्यवसायमा समेत गिरावट आएको व्यापारिहरुले गुनासो व्यक्त गरेका छन् । 

त्रिनगर कृषि उपज हाटबजार धनगढी उप–महानगरपालीका , त्रिनगर उच्च माबि र सृजनशिल समाजको सृजनाको (सिसिएस)त्रिपक्षिय साझँदारीमा सञ्चालन हुँदै आईरहेको हाटलाई व्यवस्थित गर्नमा ध्यान पुग्न नसकेका कारण व्यवसायि र ग्राहकहरुले हिउँदमा धुलोे, वर्षातमा हिलो हुने समस्या झेल्दै आएको तरकारी हाट बजार व्यवस्थापन समितिका अध्यक्ष भावनसिंह चैसिरले बताउनुभयो । 

तरकारी किन्न आउने ग्राहकहरुकोे बाक्लो आवात–जावतले हाट बजारस्थल अहिले धुलाम्य भएको छ । जसरी वर्षातमा हिलाम्य भएर हाटबजारमा आवत जावतमा समस्या उत्पन्न हुन्थ्यो त्यसरी नै अहिलेको धुलोले हुने गरेको तरकारी व्यापारी रियाज खानले बताउनुभयो । 

बर्षात हिलाम्य हुने समस्याले मानिसहरुलाई आवत जावतमा समस्या हुन्थ्यो भने अहिलेको धुलोले आवत जावतका साथै तरकारी फोहोर हुने गर्छ । स्वास्थ्यमा पनि असर पारिरहेको तरकारी व्यवसायि भगवति देउवाले बताउनुभयो ,

ढल निकासका कारण कृषि उपज हाटबजारकोे सम्पुर्ण भाग वर्षामामा हिलाम्य हँुदा तरकारी फोहोर हुने र सड्ने समस्या हुन्थ्यो । अहिले धुलोले तरकारी पूरै फोहोर हुँदा व्यापारमा नोक्सान भईरहेको उहाँको भनाई छ । 
तरकारी ब्यवसायी पद्मा चौधरीले धनगढी उप–महानगरपालीका र तरकारी बजार सञ्चालन गदै आएको सृजनशिल समाजको सृजनाले (सिसिएस) यहाँका समस्याबारे अवगत गराएपनि कुनै मतलब नराख्ने गरेको बताउनुभयो । हाटबजार लाग्ने दिन पैशा असुल्न आउँछन तर समस्या समाधानको लागी भने चाँसो दिदैन उहाँले भन्नुभयो ।  

तरकारी हाट बजार व्यवस्थापन समितिका अध्यक्ष भावनसिंह चैसिरले वर्षातको बेला हिलाम्य समस्या पारेझै अहिले धुलोले समस्या पार्ने गरेको बताउनुभयो । उहाँले तरकारी हाटबजारको समस्याका बारेमा धनगढी उप–महानगरपालिका र हाट बजार सञ्चालन समितिलाई पटक–पटक जानकारी गराउँदा पनि कसैले वास्ता नै नगरेको बताए । यति मात्र नभई तरकारी हाट बजारमा लाइट, खानेपानी लगायत थुप्रै समस्या रहेको बताए । ‘हाट बजारका थुप्रै समस्याका बारेमा नगरपालिका र सञ्चालक समितिलाई अवगत गरायौं’ उहाँले भन्नुभया भने ‘अब त हुँदा हुँदा साँझपख चोरी हुने समस्या पनि आइसक्यो, कसैले वास्ता गरेको छैन ।’

१० वर्षदेखि तरकारी बेच्दै आएका रमेश गुप्ताले पनि दाल, गेडागुडी, लगायतका मसिनो खाले खाद्यन्नमा धुलोले बढी समस्या हुने गरेको बताउनहुन्छ । अहिले हिउँदको मौसममा तरकारी हाट बजारमा हुने धुलोले तरकारीसँगै कृषक, व्यापारी र ग्राहक लगायत सर्बसाधारणलाई असर पुर्याइरहेको छ । 

हाटबजारलाई ठेक्कामा चलाईरहेको धनगढी उप–महानगरपालिकाले हाटबजारको पूर्वाधार निर्माण गर्ने कार्य धनगढी उप–महानगरपालिकाको मात्र नभई कृषि, जिल्ला विकास समितिको पनि रहेको बताएको छ । उप–महानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले हाट बजारको पूर्वाधार निर्माणका लागि आएको बजेटबाट आवश्यक संरचनाहरुको निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो । 

 धनगढी उप –महानगरपालीका र त्रिनगर कृषि उपज हाटबजार सञ्चालन गदै आएको सृजनशिल समाजको सृजनाको (सिसिएस) समन्वयको अभावका  कारण तरकारी ब्यापारी र ग्राहकहरु समस्यामा परेका छन । कृषकबाट रु. ३० र व्यापारिबाट रु ५० धनगढी उप –महानगरपालीले हाट बजार सञ्चालनको भाडा लिइरहेको छ ।  

तपाईंको बिचार