काठमाडौं ६ माघ । काठमाण्डु उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ । गएराती हिउँदै पहिलो बर्षा भएपछि चिसो बढेको हो । आज दिउँसो मौसम बदली भई पानी पर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ । हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलावसँगै मुलुकभर नै हल्का वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रमा चर्को हिमपात हुने विभागले जनाएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा बुधबार पनि मौसम बदली हुनेछ । मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, सुदूरुपश्चिमका पाहाडी जिल्लाको उच्च क्षेत्रमा हिमपात भएको छ । विभागका अनुसार मुलुकभरको मौसम बिहीबारबाट मात्रै क्रमिक सुधार आउनेछ ।
आज भने अत्यधिक चिसो हुने र हिमपातको मात्रासमेत बढ्ने अनुमान गरिएको छ । पश्चिमी वायुको चाप क्रमशः पूर्वतिर सर्दै जाँदा भने काठमाडौँलगायतका स्थानमा मौसम सामान्य बन्ने विभागको भनाइ छ । शुक्रबारबाट मात्रै मौसममा सुधार आउने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
उहाँका अनुसार आज दिउँसो मुलुकका केही स्थानमा हल्का वर्षा हुनेछ । आज र भोलि पनि मौसम बदली हुने भएकाले हवाई उडान अवरुद्ध हुनसक्ने भएकाले जबर्जस्ती उडान नगर्न विभागले आग्रह गरेको छ ।
तपाईंको बिचार