हिउँ परेपछि बेहाल भूकम्प प्रभावितहरु

प्रकाशित मिति: 2016-01-10

काठमाडौं २६ पुस । त्यसै त पुसको कठ्याङ्ग्रीदो चिसो । त्यसमाथि टहरा नै पुर्ने गरि हिउँ परेपछि अवस्था के भयो होला ? बाक्लो हिमपात भएपछि गोरखाका भूकम्प प्रभावितहरुको अवस्था बेहाल भएको छ । हिउँको भार थेग्न नसक्दा भूकम्पपीडितका टहरा भत्कन र पुरिन थालेका छन् ।

चिसोले केही ठाउँमा बाहिरसमेत निस्कन कठिन भएको छ । प्रभावित गोरखाको बारपाक, लाप्राक, गुम्दा, करौंजा, उहिया र सिर्दिबाससहित उत्तरी क्षेत्रका अन्य ७ गाविसमा हिमपात भएको र जनजीवन निकै कष्टकर भएको सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष किशोरजंग थापाले गोरखाबाट जानकारी दिनुभयो ।

उहाँका अनुसार बाक्लो हिउँ परेपछि खानपीन गर्न सकेत समस्या भएको छ ।   गुप्सीपाखाको अस्थायी शिविरमा लाप्राक गाउँका करिब ६ सय पीडित परिवार बस्दै आएका छन् । उद्धारका लागि पहल गरिन पनि पीडितहरुले आग्रह गरेका छन् । 

बारपाकमा भने हिउँ पग्लिएकाले केही सहज भएको थापाले जानकारी दिनुभयो । अग्लो भागमा हिउँ पग्लिदै गएको र केही ठाउँमा  अझै बाँकी रहेको उहाँलेको भनाई छ । 

तपाईंको बिचार