'राष्ट्रिय नेता हुने की मधेसको मात्रै, अब निर्णय दिनुपर्छ' (अन्तरवार्ता)

प्रकाशित मिति: 2016-01-05

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमति खोज्न सक्रिय हुनु भएको छ । सहमतिको विन्दु फेला परी नहाले पनि प्रयास जारीछ ।  नाका अवरोध हटाउँदै आन्दोलनका अरु विकल्प रोजे मधेसी नेता पनि राष्ट्रिय नेता हुने बताउनु भएका प्रचण्ड तराई मधेसमा समेत पुग्नु भएको छ । महोत्तरीमा पुग्नु भएका प्रचण्डसँग गरिएको कुराकानी । 


तपाईंले मधेशवादी दलसँग अब निर्णायक वार्ता हुँने बताउनु भएको थियो, तर बार्ता अझै निर्णायक भैरहेको छैन, किन होला ?

हामीले त निर्णायक नै बनाउन खोजेको हो । हामीले त्यो प्रयत्न पनि गरिरहेका छौं । अस्तीको बार्ताबाट ‘ब्रेक थु्र’ गर्ने हामीले कोसिस गरेका पनि थियौं, तर सकेनौं । यसको अर्थ बार्तामा कुनै प्रगति भएन भन्ने चाहिं होइन । चारै पक्ष सम्मिलित संयनत्र बनाएर हामी वार्तालाई निष्कर्षमा पु¥याउने प्रयत्न गर्दैछौं । संविधान संशोधन प्रस्तावको ७२ घण्टाको यो अबधिमा संयन्त्र बनाएर बार्तालाई निष्कर्षमा पु¥याउने हाम्रो प्रयत्न अहिले पनि जारी छ ।

त्यस्तो संयन्त्रमा मधेशवादी दल नबस्ने खालका खबरहरु पनि आइरहेका छन्, कसरी निष्कर्षमा पुग्नु होला र ?

मैले दुई दिन अघि महन्थ जीसँग कुरा गर्दा उहाँले संयन्त्र बनाएर बार्ता प्रक्रियालाई निष्कर्षमा पु¥याउने विषयमा सकारात्मक कुरा गर्नु भएको थियो । उहाँले म मधेशवादी दलका सबै अध्यक्षसँग कुरा गरेर खबर गरौंला भन्नु भएको थियो । सायद त्यो हुँदै होला ।

उच्च स्तरिय राजनीतिक संयन्त्रको संयोजक हुनुको नाताले तपाईंले मुलुकको संकट समाधानको लागि के पहल गरिरहनु भएको छ ?

 सरकार बनेदेखि नै हामीले मधेशमा देखिएको समस्या समाधानको लागि विभिन्न पहल गरिरहेका छौं । संविधान संशोधनको प्रस्ताबलाई परिमार्जन गरेर त्यसलाई अघि वढाउने काम पनि हाम्रै प्रयत्नले गर्दा संभव भएको हो । समस्या समाधानको लागि मधेशी मोर्चासँग हाम्रो लगातार कुरा भैरहेको छ ।

त्यसै गरी नेपाली कांग्रेस र एमालेका नेताहरुसँग पनि हामीले कुरा गरिहेका छौं । हामी त्यस्तो पार्टी हौं, मधेशवादी दल र कांग्रेस एमाले दुबैतिर हाम्रो सम्बन्ध निकटको छ । त्यसैले यतिबेला हामी मधेशवादी दल र कांग्रेस एमालेको बीचमा पुलको काम गर्दैछौं ।

मुद्धामा हामी मधेशवादी दलसँग निकट छौं । संविधान निर्माण र त्यसको कार्यान्वयनको सवालमा फेरी हामी कांग्रेस एमालेसँग निकट छौं । दुबैतिर सम्बन्ध भएको नाताले पनि हामी मुलुकको संकट समाधानमा पुल बन्न सक्छौं

अहिले पनि मधेशवादी दलले सीमा नाकामा धर्ना दिईरहेका छन् । तपाईंहरुले बार्ता त गर्दै हुनुहुन्छ, तर समस्या समाधानको ठोस आधार भने अझै देखि सकेको छैन नि ।

बार्ताले विस्तारै विस्तारै हामीबीचको दुरी घटाउँदै लगेको छ । तपाईंहरुले सीमा नाका छोड्नु पर्छ भनेर हामीले मधेशवादी दलका नेताहरुलाई दवाव दिईरहेका छौं । 

जति छिटो उहाँहरुले नाका छोड्नु हुन्छ, इन्धन र ग्याँस आपुर्तीलाई सहज बनाउनु हुन्छ, त्यति नै बार्ताले सकारात्मक गति लिन्छ । उहाँहरुप्रति जनतामा सकारात्मक सन्देश जान्छ । मैले कांग्रेस र मधेशवादी दलका नेताहरुसँगको बैठकमा पनि यस विषयमा कुरा गरें ।

तपाईंहरुले नाका छोड्नु भयो भने मधेश पहाड सबैतिरका जनताको मन जित्न सक्नु हुन्छ है भनेर मैले उहाँहरुलाई सम्झाएको छु । उपेन्द्र, महन्थ र महेन्द्र जीलाई मैले यो कुरा भनें । यस विषयमा उहाँहरु पनि सकारात्मक देखिनु भएको छ ।

यो सरकारमा एकीकृत नेकपा माओवादी पनि सहभागि छ । अहिले सरकार जसरी चलिरहेको छ, त्यसमा तपाईं सन्तुष्ट हुनुहुन्छ ?

 देशको परिस्थिति नै सन्तुष्ट हुने खालको छैन । अनि सरकारको कामबाट पनि सन्तुष्ट हुने कुरा आउँदैन । यो सरकार पनि त्यहि परिस्थितिको उपज हो .....

सरकार ठिक ढंगले नचलेको कारण तपाईंले सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै हुनुहुन्छ रे हो ?

मैले त्यसरी सरकारबाट फिर्ता हुने भनेको होइन । मैले भनेको चाहिं के हो भने, हामी मन्त्री हुन मात्र सरकारमा गएका होइनौं । देश र जनताको हितमा केही राम्रो काम गर्ने उद्देश्यले नै हामी सरकारमा सहभागि भएका हौं । अहिले हामी सरकारको समिक्षा गर्दै छौं ।

हाम्रा मन्त्रीहरुले गरेका कामको पनि हामी समिक्षा गर्दैछौं । मन्त्रीहरुको कामलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर विचार बिमर्श गर्दै छौं । सरकारलाई हामी अझ प्रभावकारी बनाउँछौं, सरकारबाट फिर्ता आउँदैनौं ।

प्रस्तुति : जनार्दन पोखरेल, रेडियो दर्पण, महोत्तरी 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Prachand_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Prachand_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार