बुटवल १९ पुस । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको रात्री बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । १६ जना घाईते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । ज्यान गुमाएकामध्ये ४ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ५ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । ज्यान जानेमध्ये बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका ३२ वर्षिय चुरक शाहको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार नारायणघाटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदेह नगरपालिका १० घोडाहा जंगलमा अनियन्त्रित भएर पल्टिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाको थप उपचारका लागि भरतपुर रेफर गरिएको छ भने अरु १२ जना लुम्बिनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
तपाईंको बिचार