मुद्दा जितियो, न्याय पाइएन

प्रकाशित मिति: 2015-12-17
निमुसंगम घर्ती, रेडियो मध्यपश्चिम दाङ

दाङ २ पुस । तुलसिपुरकी फुर्सी परियारले न्याय पाउनु भएको छ तर त्यसको उपभोग गर्न पाउनु भएको छैन । घरेलु हिंसाका कारण १० बर्ष पहिले ५ वटा बालबच्चा लिएर घरबाट निस्कनु भएकी फुर्सीले मुद्धा जिते पनि उपभोग पाउनु भएको छैन ।

परियार हिजोआज तरकारी बेचेर जिविका चलाउदै आउनुभएको छ । मुद्दा जिते पनि आफूले पाउनु पर्ने सम्पत्ति अझै लिन नसकेको उहाँको गुनासो छ । 

दाङका केही हिंसा पिडित महिलाहरुले अदालतबाट न्याय पाएका छन्, तर फैसला कार्यान्वयन नहुँदा मुद्दा जितेर पनि न्याय नपाएको महसुस पीडितहरुको छ । 
 
विभिन्न हिंसामा परेर न्यायको ढोकासम्म पुगेर जित्ने महिलाहरु जिल्लामा धेरै छन् । तर जिते पनि आफूले पाउनुपर्ने सम्पत्ति लिन सकेका छैनन् । पुनराबेदन अदालत तुलसिपुरका मुख्य न्यायाधिस कुमार चुडाल पनि मुद्धा जितेर पनि कार्यान्वयनमा निकै समस्या रहेको बताउनुहुन्छ । 


समानतामुलक समाज अबको आवश्यकता हो भनिन्छ तर लिंगकै आधारमा होस् वा अन्य कारणले महिलाहरु विभेदमा परेका छन् । विभेदमा परेकाहरु न्यायलय केही हदसम्म पिडितमुखी भएपनि चित्त बुझ्नो नभएको पुनराबेदन अदालतका मुख्य न्यायधिस चुडाल स्वीकार गर्नुहुन्छ ।  

पीडितहरुलाई मुद्दा जितेर पनि हारेको महसुस भईरहँदा पीडक भने आफूलाई झन् बलियो ठान्छ । त्यसैले अन्यायविरुद्ध न्याय माग्न गएपछि पाएको न्यायको उपभोग गर्न पीडित आफैं पनि अझ बलियो र सशक्त हुनुपर्छ भने दोषीलाई पनि कानूनी दायरमा ल्याउनु पर्छ ।

तपाईंको बिचार