संकटमा मनकारी साथ (अडियो र तस्बिरसहित)

प्रकाशित मिति: 2015-12-10
लक्ष्मी बस्नेत

काठमाडौं २४ मंसिर । झट्ट हेर्दा पारिवारिक पिकनिक जस्तै लाग्छ, ६/८ महिनाका बच्चादेखि वृद्धवृद्धासम्म लस्करै बसेर खाना खाइरहेका छन् । ठूलाठूला भाँडामा दाल, भात तरकारी दाउरामै पाक्दैछ । कोही खाइरहेका छन्, केही बाँडिरहेका छन् । साना ५/ वर्षको अवोध केटाकेटी हाँस्दै रमाउँदै खाइरहेका देखिन्थे । 

महिला आधारशिला नामक संस्थाले काठमाडौंको जोरपाटीस्थित नयाँबस्ती भन्ने ठाउँमा आइतबारदेखि शुरु गरेको सामूहिक निशुल्क खाना खुवाउने कार्यक्रमको दृश्य हो यो । 

विशेष गरी कोठा भाडामा लिएर बसेका र ज्याला मजदुरी पेशा गर्दै आएकाहरुलाई ग्यास त होइन दाउरा पनि नभएपछि चुलो बल्नै छोडेको छ । यही परेको अप्ठेरोलाई मध्येनजर गर्दै समस्यामा परेकाहरुलाई दैनिक खाना खुवाउने कार्यक्रम संस्थाले शुरु गरेको हो ।

खाना खान घरमै बस्नेहरु दिउँसो ३ बजेदेखि नै आएको बताउँथे भने स्कुले केटाकेटी विद्यालय पोशाकमै ४ बजेपछि धमाधम आउन थाले । पहिले खाना खाइसकेका अविभावक विद्यालयबाट आउने आफ्ना छोराछोरीलाई पर्खेर बसेका थिए । 

एकजना सहभागी विना लामा भाडामा बसेकाले भित्र पकाउन पाईंदैन, चौरमा पकाएर लगेर खानुभन्दा परिवारै यही आएको बताउनहुन्छ । ‘ठूलो घरको तेस्रो तलमा कोठा छ, भित्र पकाउन दिंदैनन्, दशैं अघि देखि नै चौरमा पकाउने र कोठामा लगेर खाने गरेका छौं’ उहाँको भनाइ थियो ।

आइतबार त्यहाँ पुग्दा भेटिएका धेरै त दाल, भात, तरकारी मिलाएर नखाएको त धेरै दिन भइसकेको बताउँथे । भारत घर भई नेपालमै लामो समयदेखि बस्दै आउनु भएकी गौरी सोलांकी ४ दिनपछि भात खाएको बताउनुभयो । शारीरिक अपांगता उहाँ चाउचाउ, बिस्कुटको भरमा बस्दै आएको र खाना खुवाउने भन्ने थाहा पाएपछि आएको उहाँको भनाइ थियो ।

भाडाको घरमा बसेर दैनिक ज्याला मजदुरी गरेर जीवन चलाइरहेकाहरुको समस्या भनि साध्य छैन । विद्यालय पोशाकमै खाना खाँदै गरेको ४ कक्षामा अध्ययनरत अशोक लामा भन्दै थिए, ‘भारतले नाकाबन्दी गरेको रे अनि, ग्यास दाउरा नपाएको रे’ । आफ्नु बुबा घर बनाउने काम गर्ने र त्यहींबाट ल्याएको काठको टुक्राटुक्री बालेर भात खाँदै आएको लामाको भनाइ छ । 

संस्थाले दाउरामै पकाएर भात, दाल, सागको तरकारी र एक कप दही पनि खुवाउने गरेको छ । पहिलो दिन पाँच सय जनालाई खाना खुवाउने अनुमान गरिए पनि झण्डै ७ सय पुगेका थिए । सोमबार र मंगलबार पनि सातसय देखि आठसय जना भएको अध्यक्ष रेणु शर्माले जानकारी दिनुभयो । जोरपाटी, गोठाटार आसपासका लागि भनेर शुरु गरिए पनि चाबहिल, गौशालाका साथै त्यो भन्दा टाढादेखि पनि केही आउने गरेको शर्माको भनाइ छ । तर जहाँका भए पनि पुग्नेलाई खाना दिएर मात्रै पठाउने गरिएको छ । 

स्थानीयको भोकभोकै बसेको अवस्था देखेर बेलुकाको खाना खानु नपर्ने गरी दिउँसो ३ बजेपछि सामुहिक निशुल्क खाना खुवाउन शुरु गरेको आधारशिलाका महासचिव कमला उपे्रतीले बताउनुभयो । अहिलेको अवस्थामा स्थानीय निकाय वडा तथा अरु संघसंस्थाले पनि सक्ने गरी एक छाक मात्रै खाना खुवाए भोको पेटलाई ठूलो राहत हुने उहाँको भनाइ छ ।

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Report-_Laxmi_Basnet_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Report-_Laxmi_Basnet_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार