महिनाबारी अब दुःख पारी

महिलामैत्री शौचालय बनेपछि सजिलो

प्रकाशित मिति: 2015-12-02
कृष्णमाया उपाध्याय, रेडियो नारी आवाज

जुम्ला १६ मंसिर । जिल्ला शिक्षा कार्यालय जुम्लाले विद्यालयमा छात्रामैत्री शौचालय बनाउने कामलाई तिब्रता दिएको छ । महिनावारी भएको बेला छात्राहरु शौचालय नआउने भएकाले पनि छात्रामैत्री शौचालय निर्माणको कामलाइ तिब्रता दिइएको हो । 

जुम्लामा रहेका निम्न माध्यामिक, माध्यामिक र उच्च माध्यामिक विद्यालयमा अहिले जिल्ला शिक्षा कार्यालयले छात्रा मैत्री शौचालय बनाउने कामलाई अभियानकै रुपमा गरिरहेको छ । महिनावारी भएका बेला छात्राहरुलाई समस्या नपरोस् भन्ने उद्देश्यले थालिएको अभियानले आफूहरुलाई धेरै सजिलो भएको छात्राहरुको भनाइ छ । जनता माध्यामिक विद्यालयका  कक्षा १० मा अध्ययनरत छात्रा सपना काफ्ले पहिले भन्दा अहिले धेरै सजिलो भएको बताउनुहुन्छ ।

ती विद्यालयहरुमा पहिलेको भन्दा छात्राको उपस्थिति बढी हुने गरेको विद्यालयहरुको भनाइ छ । अधिकांश विद्यालयहरुमा आवश्यकताअनुसार पानीको समेत व्यवस्था अबदेखि गरिएको छ भने महिनावारी भएको समयमा प्रयोग गरिएका प्याड व्यवस्थापनको लागि इन्सुनेटरसहितको शौचालय बनाइएको छ । यसले महिनावारी भएको बेला ३ दिनसम्म विद्यालय नआउने छात्राहरु अहिले नियमित भएको विद्यालयका निमिक्त प्रधानाध्यापक जितेन्द्र महतको भनाइ छ । 

जिल्ला शिक्षा कार्यालयले यो आर्थिक वर्षमा पनि ४ वटा छात्रा मैत्री शौचालय निमार्ण गरिरहेको छ भने आगामी दिनमा प्राविदेखि उच्च माविसम्म सबै विद्यालयमा छात्रा मैत्री शौचालय बनाउने योजना छ भन्नुहुन्छ, जिल्ला शिक्षा कार्यालयका सव इन्जिनियर नेत्र बुढ्थापा । विद्यालयमा छात्राको उपस्थिति बढाउनको लागी छात्रा मैत्री शौचलय निमार्णको कामलाई तिव्रता दिईएको छ । 

महिनावारी भएको समयमा पनि छात्राहरु विद्यालयमा आउन सहज होस् भन्नको लागी शौचलय निमार्णलाई तिव्रता दिईएको हो ।  जिल्लामा रहेका १ सय  ५९ वटा  विद्यालय मध्ये १ सय वटा विद्यालयमा छात्रा मैत्री शौचालय बनेका छन् । 

महिनावारी निश्चित उमेरका महिलाहरुको नियमित प्रक्रिया भएकाले त्यो बेलामा उनीहरुलाई कहीं पनि वञ्चित हुने अवस्था आउन नदिन जुम्लामा थालिएको छात्रामैत्री शौचालय बनाउने अभियानको सबैतिरबाट प्रशंसा भइरहेको छ ।

तपाईंको बिचार