बुवा-आमाले दिएको पकेट खर्च कटाउदा मिल्यो विश्व सफलता

प्रकाशित मिति: 2015-11-18

काठमाडौं ।  अनाथ बालबालिकाहरुको सेवामा संलग्न अमेरिकी युवती माग्गी डोयन ‘सिएनएन हिरो अफ द इयर–२०१५’ घोषित भएकी छन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई अडियन्स अनलाइन भोटिङका आधारमा ‘सिएनएन हिरो अफ द इयर–२०१५’ घोषणा गरिएको हो ।

सिएनएन हिरोज अफ द इयर घोषणा भएसँगै डोयनले १ लाख अमेरिकी डलर पुरस्कार जितेकी छिन् । अमेरिकाका न्यु जर्सी निवासी डोयनलाई नेपालमा सयौं महिला र बालवालिका जीवन परिवर्तनमा सघाउ पु¥याएको भन्दैं उक्त अवार्डबाट सम्मानित गरिएको हो । उनले बुवाआमाले दिएको पकेट खर्च कटाएर मध्यपश्चिमको सर्खेतमा अनाथ बालवालीकाका लागि काम गरेकी थिइन ।  

एक दशकअघि ब्यागप्याकिङ ट्रिपमा नेपाल आएकी डोयन यहाँका बालबालिका र महिलाको अवस्था देखेपछि महिला र बालवालिकाको सेवामा होमिएकी थिइन् ।

डोयनले वीलिङनाउ फाउण्डेशन सञ्चालन गरेकी छिन् । जसमार्फत सुर्खेतमा एक स्कुल, एक महिला केन्द्र र कोपिला भ्याली चिल्ड्रेन होम खोलेर समाजसेवा गरिरहेकी छिन् ।


उनले सञ्चालन गरेको कोपिला भ्याली चिल्ड्रेन होममा अहिले ८ देखि १६ वर्षका ५० भन्दा बढी बालबालिकाले आश्रय पाइरहेका छन् । उनले सुर्खेतको स्थानीय समुदायसँग मिलेर सञ्चालन गरेको स्कुलमा झण्डैं डेढसय बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

‘यदि मैले तपाईंहरुसँग भने म १८ वर्षको उमेरमा ५० बच्चाकी आमा थिए । तपाईहरुले ठान्नुहुनेछ कस्तो पागल रहिछ । तर, म त्यस्तै पागल हुँ,’ सिएनएन हिरो घोषित भएपछि २८ वर्षिया डोयनले भनिन्, ‘म मेरा बच्चाहरुलाई  एकदमै प्रेम गर्छु । कहिल्यै नबिर्स म तिमीहरुलाई कति प्रेम गर्छु ।’


डोयनले आफूलाई छोरीका रुपमा माया गर्दै स्वीकार गरेर आश्रय दिएकोमा नेपाललाई पनि धन्यवाद दिएकी छिन् । उनले भनिन्, ‘र म नेपालमा मलाई माया गर्ने र मलाई तपाईहरुको देशमा एक छोरीको रुपमा स्वागत गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु । ’

तपाईंको बिचार