बन्द र नाकाबन्दीको छायामा छठ

प्रकाशित मिति: 2015-11-17

काठमाडौं १ मंसिर । 
आज छठ पर्व मनाइदैछ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । यसै वर्षदेखि सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालिएको हो ।

आज रानी पोखरीमा मनाउने छठ पर्वको विशेष कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतको सहभागिता रहनेछ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवम् अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । बन्द नाकाबन्दीले छठ मनाउन सकस भने देखिएको छ ।  बन्दको छायामा छठ पर्दा अप्ठ्यारो भएको अधिकांसको गुनासो छ । 

 

तपाईंको बिचार