ओली नेपालको ३८ औं प्रधानमन्त्री

प्रकाशित मिति: 2015-10-12

काठमाडौं । सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । व्यवस्थापिका संसदको बैठकमा भएको मतदानमा कुल मतमध्ये ओलीले ३ सय ३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले घोषणा गर्नुभयो । मतदानमा ५ सय ८७ जना सांसद उपस्थित भएका थिए ।

प्रधानमन्त्रीका अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २ सय ४९ मत प्राप्त गर्नुभएको छ ।  एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरुको समर्थनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो ।

एमालेका तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित ६४ वर्षीय नेता ओली नयाँ संविधान घोषणा भएको २१ दिनपछि प्रधानमन्त्रीमा चयन हुनुभएको हो ।  बिजयी भएपछि ओलीले अब राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनतालाई जोडदिने बताउनुभयो । 

 

लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने नेपालको संविधान अनुसार निर्वाचित हुने  उहाँ पहिलो प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । 

मतदानको केही अघि मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले समेत उनकै पक्षमा समर्थन गर्ने निर्णय गरेको थियो ।

कोइरालालाई भने कांग्रेस र आन्दोलनमा रहेका फोरम (लोकतान्त्रिक)बाहेक अन्य मधेशकेन्द्रित दल, केही साना दल र २ जना स्वतन्त्र सांसदले मत दिएका थिए ।
ओलीलाई नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), परिवार दल र राष्ट्रिय जनमुक्तिका सांसदले समेत मतदान गरेका थिए । त्यस्तै एक–एक सिट भएका मधेश समता पार्टी, नेपा: राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टी, बहुजन शक्ति पार्टीले समेत ओलीका पक्षमा थिए ।

एमाओवादीभित्र बाबुराम भट्टराई पक्षधर केही मधेसका सांसद र १२ सिट रहेको राप्रपामा मत विभाजनको आशंका अघिल्लो दिन रहेपनि मतदानमा त्यस्तो भएन । दुवै पार्टीबाट पार्टी निर्णय अनुसार ओलीकै पक्षमा मत परेको थियो ।

कांग्रेसका ३ जना सांसदहरुभने मतदानका बेला अन्तराष्ट्रिय सम्मेलनकेन्द्रस्थित हल बाहिर भई फर्कन ढिला हुदा मतदानमा भाग लिन पाएनन् । सांसदहरु प्रदीप गिरी, बद्री पाण्डे र जीवन परिवार छुटेका हुन् । मतदान सुरु हुनु भन्दा अघिको विभाजन घण्टी बज्ने बेला सांसद पाण्डेको स्वास्थ्यमा केही असजिलो भएपछि परियारलाई लिएर उनी बाहिरिएका थिए । लगत्तै भित्रिंदा ढिलो भई हलभित्रको ढोका बन्द भइसकेको थियो ।

तपाईंको बिचार