छाउ हटाउन आफैबाट पहल गर्नुपर्नेमा सरोकारवालाको जोड

प्रकाशित मिति: 2019-01-19

छाउपडि प्रथा अन्त्यका लागि आफैबाट पहल सुरु गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।  आज डेज फर गल्सले काठमाण्डौमा गरेको कार्यक्रममा उपस्थित सांसद तथा अरु सरोकारवालाले आफू, आफ्नो परिवार र टोलबाट छाउपडि प्रथा हटाउन सके देशबाट नै यो प्रथा हटाउन सक्ने बताएका हुन् ।

 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद  गंगा चौधरीले पहिले आफ्नो घरबाट छाउपडि प्रथा हटाउन सके बिस्तारै समाज र  देशबाट यो प्रथा अन्त्य गर्न सजिलो हुने बताउनुभयो । मनभित्रको छाउगोठ अन्त्य नहुदा सम्म बाहिरको छाउगोठ अन्त्य नहुने उहाँको भनाइ थियो ।

 

यस्तै प्रतिनिधिसभाका अर्का सांसद लक्ष्मी चौधरीले समाजमा चल्दै आएको मूल्य मान्यता र सस्कारहरु एकैपटक भत्काउन गाह्रो हुने भएपनि यस्तो कु प्रथा अन्त्यका लागि आफैबाट पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

 

यस्तै अर्का सांसद आशा कुमारी बिकले छाउपडि प्रथा अन्त्यका लागि जनचेतना र शिक्षाको आवश्यकता औल्याउदै सबै मिलेर हातेमालो गर्न सके यो प्रथा हटाउन सकिने धारणा राख्नुभयो  ।

 

कार्यक्रममा छाउपडि प्रथा अन्त्यका लागि किशोरीहरुका दिन नेपालको तर्फबाट गरिएको प्रयासका बारेमा जानकारी गराइएको थियो । किशोरीहरुका दिन नेपालले सजिलोसंग प्रयोग गर्न सकिने र पुनः प्रयोग गर्न सकिने खालको प्याड बनाएर वितरण गर्दै आएको छ । 

तपाईंको बिचार