सडक भासिएपछि सिन्धुली–बर्दिबास सवारी अवरुद्ध

रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीसहित पूर्व जाने यात्रुलाई समस्या

प्रकाशित मिति: 2017-02-20
नारायण श्रेष्ठ, रेडियो तिफदी, रामेछाप

सिन्धुलीको शीतलपाटी गाविसमा पर्ने त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । 
गएराती एक्कासी सडक भासिएपछि सिन्धुली बर्दिबास हुँदै काठमाण्डौ चल्ने गाडी बिच बाटोमै रोकिएको सिन्धुली प्रहरीले जनाएको छ । 

झण्डै २० देखि ३० फिट सडक भासिएको र तल सुनकोशी नदी भएकाले तत्काल बाटो खुलाउन समस्या हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तमप्रसाद बरालले जानकारी दिनुभयो । 

सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली सहित पूर्व जाने यात्रुलाई समस्या भएको छ ।  मान्छे समेत हिँड्न नमिल्ने गरि सडक भासिएको छ । 

आवातजावत गर्ने वैकल्पिक मार्ग काठमाडौ–सित्खा–पकरवास–मन्थली–खुर्काेट अनि खुर्काेट–मन्थली–पकरवास–सित्खा–काठमाडौ प्रयोग गर्न सुझाव सडक डिभिजन कार्यालय खुर्काेटका डिभिजन प्रमुख राकेश महर्जनले सुझाव दिनुभएको छ । 

उहाँका अनुसार वैकल्पिक सडक खोलेर यातायात सुचारु गर्ने प्रयास भईरहेको छ । सडक बिभाग र जाईकाको टोलीसमेत आउने र आजैबाट वैकल्पिक सडकको व्यवस्थाको लागि काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

बाटो छोटो भएकाले पूर्व चल्ने साना गाडी यही सडकबाट चल्ने गरेका थिए । जापान सरकारले बनाइदिएको बीपी राजमार्गमा दुई वर्ष अघिदेखि गाडी चल्न थालेको हो ।

 

तपाईंको बिचार