काठमाडौं ।शिक्षा मन्त्री धनिराम पौडेलले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यालयमा भैरहेको तालाबन्दीप्रति चासो व्यक्त गर्नु भएको छ ।
मन्त्री पौडेलले आइओएमका नव नियुक्त डिन डाक्टर जगदिश अग्रवाललाई बुधबार राती आफ्नो निबासमा बोलाएर असन्तुष्ट पक्षको चित्त बुझाएर डिन कार्यालयमा भैरहेको तालाबन्दी खोल्ने बाताबरण सिर्जना गर्न निर्देशन दिनुभएको छ । मन्त्री पौडेल र डिन अग्रवालबीच गए राती झण्डै दुई घण्टासम्म यस बिषयमा छलफल भएको थियो ।
छलफलमा डाक्टर अग्रवालले विहिबारदेखि नै असन्तुष्ट पक्षसँग संवाद शुरु गरी समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता मन्त्री पौडेल समक्ष व्यक्त गर्नु भएको छ । उहाँले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन डाक्टर गोविन्द केसीको समेत सहयोग खोजिने बताउनु भयो ।
डाक्टर गोविन्द केसीको माग अनुसार सरकारले डाक्टर केशवप्रसाद सिंहलाई राजिनामा दिन लगाएर डाक्टर जगदिश अग्रवाललाई आइओएमको नयाँ डिन बनाएपछि असन्तुष्ट पक्ष संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएको छ ।
असन्तुष्ट पक्षले गरेको तालाबन्दीको कारण डिन अग्रवाल अझै आफ्नो कार्यकक्षमा प्रवेश गर्न पाउनु भएको छैन । डाक्टर सुरेश उप्रेती संयोजकत्वको संघर्ष समितिले डिन अग्रवालले राजिनामा नदिएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ ।
कानुन सम्मत रुपमा नियुक्त भएका डाक्टर सिंहलाई एउटा व्यक्तिको हठको कारण सरकारले जवर्जस्ती राजिनामा दिन बाध्य बनाएर गैर कानुनी ढंगले अग्रवालाई डिन नियुक्त गरेको असन्तुष्ट पक्षको आरोप छ ।
तपाईंको बिचार